बीमा न्युज,
काठमाडौँ/अर्थमन्त्रालयको निर्देशन पछि बीमा समितिले कृषि बीमाको सम्पूर्ण विवरण सफट्वेयरमा राख्ने तयारी गरेको छ । विस्तृत विवरण नदिएको भन्दै अर्थमन्त्रालयले कृषि बीमाको अनुदान रकम नै रोकिदिए पछि समितिले विवरण सफट्वेयरमा राख्ने तयारी गरेको हो । यही महिना देखि सफ्ट्वेयर कार्यन्वयनमा ल्याईने समितिले बताएको छ ।
कृषि विकास मन्त्रालयको नेतृत्वमा सरकारले २०६९ माघ १ गते देखि कृषि बीमाको सुरुवात गरेको हो । त्यस्तै, २०७०÷७१ देखि यसलाई अनिवार्य समेत गरिएको छ । समितिले कम्पनीहरुलाई कृषि बीमा जारी गर्नका लागि जिल्लाहरु नै तोकेको छ । यसरी कम्पनीहरुले जारी गरेको कृषि बीमा सम्बन्धी जानकारी विस्तृत रुपमा समितिमा उपलब्ध हुँदै आए पनि समितिले भने यसलाई व्यवस्थित गर्न सकेको थिएन । समितिसँग कृषि बीमा सम्बन्धी विवरण राख्ने आवश्यक सफ्ट्वेयर र जनशक्तिको अभाव भएपछि अभिलेख राख्न नसकिएको समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए ।

समितिले हालसम्म मन्त्रालयलाई कृषि बीमा सम्बन्धी संक्षिप्त विवरण उपलब्ध गराउँदै आएको थियो । तर, सफ्ट्वेयरको अभावका कारण विस्तृत विवरण भने उपलब्ध गराउन सकेको थिएन । जसका कारण अर्थमन्त्रालयले गत आव देखि नै कृषि बीमाको अनुदान रकम रोक्का गरेको थियो । अर्थमन्त्रालयले अनुदान रोकेपछि बीमा कम्पनीहरु भने अप्ठेरोमा परेका छन् ।
तर, अब सफ्ट्वेयर प्रयमोगमा आउपछि यो समस्या पनि हट्ने समितिको विश्वास रहेको छ । कृषि विकास मन्त्रालयलको सहयोगमा समितिले सफ्ट्वेयर निर्माण गरिसकेको छ । काठमाडौ स्थिति हिमालयन आईटी कम्पनीले ३ लाख रुपैयाँमा उक्त सफ्ट्वयेर निर्माण गरेको हो । जसमा कम्पनीहरुले कहाँ कति र कुन प्रकारको बीमालेख जारी गरेको छ स्पष्ट देख्न सकिने समितिका उप निर्देशक सापकोटाले बताए । सफ्ट्वेयर प्रयोग गर्नु अगाडी कम्पनीका कर्मचारीहरुलाई तालिम समेत उपलब्ध गराईने उनले बताए ।
सफ्ट्वेयरमा तथ्यांक राख्दा पारदर्शिता हुने समितिले बताएको छ । यसले कुन जिल्लामा कृषि बीमाको पहुँच कति छ भनेर सहजै थाहा पाउन सकिने हुँदा बजार विस्तार गर्न र कृषकसम्म पुग्न सजिलो हुने समेत समितिको विश्वास रहेको छ ।
कृषि बीमा प्रति कृषकहरुलाई प्रेरित गर्न सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । बीमा समितिको तथ्यांक अनुसार गत आवको पहिलो नौ महिनाको अवधिमा सरकारले कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने अनुदान रकम १६ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।