बीमा न्युज, काठमाडौं÷ बिहिबार सेयर बजारमा बीमा कम्पनीहरुको सेयर मूल्य तिब्र गतिमा तल झरेको छ । कारोबार भएका सबै बीमा कम्पनीको सेयर मूल्यमा आएको उच्च गिरावटले बीमा समुहमा सबैभन्दा धेरै गिरावट आएको छ । विगत केही दिनदेखि उछाल देखिएको बीमा समुह अचानक रिभर्स हुँदा यसै समुहको अधिक सेयर किनबेच भएको छ ।
बिहिबार बजार खुलेदेखि नै ओरालो लागेको बीमा समुह बजार बन्द हुँदा १ सय ६० दशमलव ५३ अंकको गिरावटमा बन्द भएको छ । सुचक १.६३ प्रतिशतले घटेको हो । ९ हजार ६ सय ७५ दशमलव ९३ अंकमा ओर्लिएको बीमा समुहमा मात्र ५३ करोड ५४ लाख ३६ हजार रुपैँयाको सेयर कारोबार भएको छ । बिहिबार कुल एक अर्ब १५ करोड आठ लाख २० हजार रुपैंयाको सेयर किनबेच भएकोमा बीमा समुहले त्यसको ४६.५२ प्रतिशत हिस्सा ओगटेको हो ।
बीमा सुचकमा आएको गिरावटका बावजुद पनि धेरै कारोबार गर्ने १० वटा कम्पनीको सूचिमा आठ बीमा कम्पनी रहेका छन् । पाँच करोड ८५ लाख नौ हजार रुपैंयाको सेयर कारोबार भएर प्रभु इन्स्योरेन्स सूचीको पहिलो स्थानमा बसेको छ । प्रभु इन्स्योरेन्सलाई कारोबार रकमका आधारमा पाँच करोड १४ लाख रुपैंयाको कारोबार गरी प्राइम लाइफ इन्स्यारेन्सले पछ्याएको छ । त्यसै गरी सगरमाथा इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायत अन्य दुई विकास बैंकहरुको अधिक सेयर किनबेच भएको छ ।
कारोबार भएको सेयर संख्याका आधारमा प्रभु इन्स्योेरेन्स चौथो स्थानमा रहँदा कारोबार संख्याका आधारमा नेपाल लाईफ इन्स्योरेन्स पहिलो स्थानमा छ । कारोबार संख्याका आधारमा नेपाल लाइफलाई प्रभू इन्स्योेरेन्स, सगरमाथा इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स लगायतले पछ्याएका छन् ।
बिहिबार बीमा उपसमुहमा आएको गिरावटले अधिक सेयर मूल्य घट्ने शिर्ष १० कम्पनीको सूचीमा ७ वटा बीमा कम्पनीको दबदवा रहेको छ । जसमा राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ५ दशमलव ६२ प्रतिशतले घटेको छ । त्यसै गरी सूर्या लाईफ इन्स्योरेन्स, एन एल जी इन्सयोरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र नेको इन्स्योरेन्सको सेयर मूल्य झण्डै चार प्रतिशतसम्म घटेको छ । बजार खुल्ला रहँदै गर्दा छिन छिनमा बीमा कम्पनीको सेयर मूल्यमा आएको फराकिलो उतार चढावले लगानीकर्तामा सामान्य किसिमको अन्यौलता उत्पन्न गराएको छ ।
बिहिबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ४९ कम्पनीका १८ लाख ३९ हजार चार सय २४ कित्ता सेयरहरु नौ हजार १५ वटा कारोबारबाट एक अर्ब १५ करोड ८२ लाख नौ सय ८० रुपैँयामा किनबेच भएका छन् ।