बीमा न्युज,
साउन १७-काठमाडौं/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ)पदको लागि दरखास्त आह्वान गरेको छ । गत असार २५ मा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल सकिएपछि खुला प्रतिस्पर्धावाट पदपुर्ति गर्न लागिएको हो ।
थपलियाको कार्यकाल सकिएपछि यो पदमा नियुक्ति गर्न लागिएको भनेर विभिन्न व्यक्तिहरुको नाम पनि चर्चामा आएको थियो । अन्ततः अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाबाटै कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो । प्रमुख कार्यकारीमा खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अडान लिएपछि आवेदन माग गरिएको हो । अर्थ मन्त्रालयले मंगलबार खुला प्रतिस्पर्धाबाट नेप्सेमा कार्यकारी अधिकृत नियुक्त गर्ने भन्दै योग्य उम्मेद्वारका लागि आवेदन दिन सूचना निकालेको छ ।
प्रमुख कार्यकारी अधिकृतको उम्मेदारलाई अर्थन्त्रालयले १५ दिन भित्र व्यावसयिक कार्ययोजनासहित दरखास्त मागेको हो । इच्छुक योग्यता पुगेका उम्मेदवारले पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पेश गर्नुपर्नेछ ।
प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएका तीस बर्ष पुरा भई साठी बर्ष ननाघेका व्यक्तिहरुले आबेदन दिन सकिने बताएको छ ।
नेपालको सेयर बजार इतिहासमा पहिलो सेयर निस्कासन विराटनगर जुट मिल्सको भएको थियो । नेप्सेले ओभर द काउन्टर (ओटिसी) कारोबार पनि खुला गरेको छ । नेपाल बैंकको पहिलो ओटिसी कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज स्थापना भएको ३२ बर्ष पुरा भइसकेको छ । धितोपत्र दलालमार्फत कारोबार सुरु भएको २२ बर्ष पुरा भएको छ । हाल नेप्सेको चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । कम्पनीमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडिसी डेभलपमेन्ट बैंकको ६.१२ प्रतिशत र सेयर ब्रोकरहरुको ०.६२ प्रतिशत सेयर लगानी छ ।
अहिले नेपाल स्टक एक्सचेन्जमा नौं वटा समूहमा २ सय १२ वटा कम्पनीको सेयर सुचिकृत छन् ।