बीमा न्युज,
भदौ १३, काठमाडौं÷ सामाजिक सुरक्षा अन्र्तगत स्वास्थ्य मन्त्रालयको संचालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम थप सात जिल्लामा लागु हुने भएको छ । चाालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रम देशभर लागु गर्ने योजना अनुरुप आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको हो ।
अब स्वास्थ्य बीमा कार्यक्रममा झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि कार्यक्रम लागू हुने जिल्लाको संख्या २२ पुगेको छ ।
बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले छनोटमा परेका जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न काम भइरहेको बताउनुभयो ।
आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई कार्यान्वयनमा ल्याउन सो कार्यक्रम महत्वपूर्ण मानिन्छ । यसै कुरालाई ध्यान दिई स्वास्थ्य मन्त्रालयले विक्रम संवत २०७२ चैत देखि कैलाली जिल्लाबाट बीमा कार्यक्रम प्रारम्भ गरेको थियो । बीमा कार्यक्रममा आबद्ध पाँच जनासम्मको परिवारले दुई हजार पाँच सय तिरेपछि पचास हजार सम्मको उपचार निःशुल्क गर्ने सकिने प्राबधान छ । पाँच जनाभन्दा बढी संख्या भएको परिवारका लागि चार सय पच्चिस रुपैँयाका दरले थप शुल्क लाग्ने छ ।
अहिले स्वास्थ्य बीमा कार्यक्रम कैलाली, बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दी, चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट र भक्तपुरमा सञ्चालित छ । रासस