बीमा न्युज,
काठमाडौं÷नेपालको बीमा उद्योगमा विदेशी कम्पनीहरुको करिब ५६ करोड ४४ लाख रुपैयाँ लगानी रहेको छ । भारत, श्रीलंका, जर्मन तथा अमेरिकन कम्पनीले नेपाली बीमा कम्पनीहरुमा लगानी गरेको बीमा समितिले जानकारी दिएको छ । बीमा व्यवसायका लागि नेपाली बजारमा पर्याप्त संभावना देखिएकोले विदेशी कम्पनीहरु नेपालमा आकर्षित भएका हुन सक्ने समितिको ठम्याई रहेको छ ।
नेपालमा सञ्चालित बीमा कम्पनीमध्ये नेशनल लाईफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), युनाईटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्समा विदेशी कम्पनीहरुको प्रत्यक्ष लगानी रहेको छ ।
जीवन बीमा कम्पनी तर्फ लाईफ इन्स्यारेन्स कर्पोरेशन (नेपाल) मा सबैभन्दा बढी विदेशी लगानी रहेको छ । उक्त कम्पनीमा लाईफ इन्स्योरेन्स कर्पोरेशन इण्डियाको ५५ प्रतिशत लगानी रहेको छ । एक अर्ब छ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)मा भारतिय कम्पनीले ३८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा भने अमेरिकन कम्पनी सिलिक कोटको दुई प्रतिशत लगानी रहेको छ । एक अर्ब ३२ करोड चुक्ता पूँजी रहेको उक्त कम्पनीमा अमेरिकन कम्पनीले दुई करोड तीन लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, निर्जीबन बीमा कम्पनी तर्फ युनाईटेड इन्स्योरेन्स कम्पनीमा जर्मन कम्पनी कपुर जिएमविएच तथा मोरगान रिड एण्ड सरमनको एक÷एक प्रतिशत लगानी रहेको छ । ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा जर्मन कम्पनीहरुले २१ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीमा श्रीलंकको सिलिङको इन्स्योरेन्स कम्पनी २० प्रतिशत लगानी रहेको छ । ५३ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीमा श्रीलंकाको कम्पनीले सात करोड १३ लाख रुपैयाँ लगानी गरेको छ ।
बिमा ऐन अनुसार बीमा व्यवसाय गर्न चाहने संस्थाले बीमा समितिबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ । तर, ऐनमा विदेशी लगानी सम्बन्धी भने स्पष्ट नीति छैन । यद्यपी मुलुकमा विदेशी लगानी भित्राउने राष्ट्रिय नीति नै भएकाले बीमा कम्पनीमा विदेशी लगानी रहेको समितिका निर्देशक श्रीमान् कार्कीको ठहर छ ।
कुन कम्पनीमा कसको लगानी कति ? विवरण सहित …