बीमा न्युज,
भाद्र, २२ काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद शेयरको रकम फिर्ता दिने बताएको छ । कम्पनीले आगामी आइतबार(भाद्र २५)देखी रकम फिर्ता गर्ने जानकारी दिएको छ। कम्पनीले गत असार ३० गते एक शेयर बराबर एक शेयरको अनुपातमा ३९ लाख कित्ता हकप्रद शेयर बिक्रिका लागि खुल्ला गरेको थियो ।
आफ्नो साविकमा रहेको शेयर भन्दा बढि शेयर आवेदन भरेका शेयर धनिहरुको रकम फिर्ता गर्न लागेको कम्पनीले एक सूचना प्रकाशन गरि जानकारी दिएको हो ।
शेयर धनिहरुले कम्पनीको शेयर बिक्रि तथा निष्कासन प्रबन्धक सिबिआईएल क्यापिटलबाट आफ्नो चेक संकलन गर्न सक्नेछन् । चेक लिन जाँदा दरखास्त फारको अर्धकट्टी र नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
हकप्रदमा बिक्रि नभएको शेयर लिलामी
यस संगै कम्पनीले हकप्रदमा बिक्रि नभएको शेयर लिलामी गर्ने तयारी गरेको छ । कम्पनीले गत असार ३० गते बिक्रिका लागि आह्वान गरेको ३९ लाख हकप्रद शेयर मध्ये ४२ हजार ८ सय १५ कित्ता शेयर अझै बिक्रि हुन बाँकी रहेको छ । कम्पनीले यसरी बिक्रि हुन बाँकी रहेको शेयर भाद्र २८ गतेदेखी लिलामी गर्ने बताएको छ ।
३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ३९ करोड रुपैयाँ हकप्रद शेयर र शेयर लिलामिबाट संकलन गर्ने छ । त्यसपछि कम्पनीको चुक्ता पुजिँ ७८ करोड पुग्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा ८९ करोड ११ लाख ५० हजार र आर्थिक वर्ष २०७५÷७६ भित्रमा एक अर्ब एक करोड ८१ लख ३९ हजार चुक्ता पुजिँ पुर्याउने अनुमान गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा लुम्बिनीले १९ करोड नौ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ४४ पैसा छ ।
निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी अनिवार्य एक अर्ब रुपैयाँ पुर्याउनुपर्ने बीमा समितिको निर्देशन छ । त्यस अनुरुप कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गरी बाँकि रहेको शेयर पनि लिलामी गर्न लागेको हो ।