बीमा न्युज,
भदौ २३, काठमाडौ÷बीमक र बीमित बीच पुलको भूमिका निर्वाह गर्ने बीमा सर्भेयरहरुले आफुहरु सधैँ चेपुवामा पर्ने गरेको गुनासो गरेका छन् । बीमकले जारी गरेको बीमालेखमा बीमितले दाबी गरेको समयमा क्षति भएको सम्पतीको सही मूल्याकंन गर्ने कार्य सर्भेयरले गर्ने गर्छन् । क्षति भएको सम्पतीको विभिन्न पक्षलाई हेर्दै त्यसको भुक्तानी रकम किटान सहितको प्रतिवेदन तयार गर्नु सर्भेयरको मूख्य कार्य हो ।
तर, यसरी क्षतिको मूल्यांकन गर्दा बीमितले सधै अधिकत्तम भुक्तानीको अपेक्षा गर्छ भने विमकले सधै न्यूनत्तम भुक्तानीको अपेक्षा गर्ने गर्छन् । यस्तो परस्थितीमा सर्भेयरहरुले दोहोरो दबावको सामना गर्नुपर्ने हुन्छ ।
पाँच सय सर्भेयरले बीमा समितिवाट अनुमति लिएको भएपनि एक सय ५० जना मात्रै सक्रिय छन् ।
बीमा गरिएको सम्पति क्षतिग्रस्त भएमा सबैभन्दा पहिला बीमा कम्पनीलाई खबर गर्नुपर्छ । दुर्घटनाको भएको सुचना पाएपछि बीमा कम्पनीले बास्तविक क्षति थाहा पाउन अनुसन्धान गर्छ । यसरी क्षति भएको सम्पतिको अनुसन्धान गर्ने कामलाई सर्भे भनिन्छ । सर्भे गर्ने व्यक्तिलाई बिमा सर्भेयर भनिन्छ । सम्पतिको बीमा गर्नु अगाडी र दाबी भुक्तानी अगाडी सर्भे गरिन्छ । नेपालमा व्यवसायिक रुपमा व्यक्ति र संस्थागत सर्भेयर उपलब्ध छन् ।
बीमा गरिएको धन सम्पतीको लागि बीमितले गर्ने दाबी रकम अनुमानित रकम मात्रै हो । त्यसको क्षति तथा त्यसले पाउनुपर्ने क्षतिपूर्तिको वास्तविक मूल्यांकन सर्भेयरले गर्ने गर्छन् । सर्भे गर्दा क्षति भएको सम्पतिको मात्रै मूल्यांकन गरिन्छ । उक्त सम्पतिको पनि हस मूल्य घटाएर बास्तविक दाबी रकमको रिपोर्ट तयार पारिन्छ । त्यसैले अधिकांश अवस्थामा मानिसहरुले अनुमान गरेको क्षति रकम भन्दा कम मूल्य देखिन आउने सर्भेयर संघका अध्यक्ष एवंम टिसा इन्जिनियरिङ्गका प्रमुख बिमा सर्भेयर सूर्या प्रसाद जोशी बताउनुहुन्छ । “यस्तो अवस्थामा विमितहरुले दबाब दिन्छन् । ” बीमित बीमकको मध्यस्थकर्ताभई काम गर्दा कहिलेकाही राजनीतिक दबाब समेत आउँने गरेको जोशिको अनुभव रहेको छ ।
सर्भेयरको लागि अनुमति लिन इन्जिरियरिङ्ग र चाटर्ड एकाउण्टेटको अध्ययन पुरा गरेका वा कुनै पनि बीमा कम्पनीमा दश बर्षसम्म अधिकृत तहमा काम गरेका व्यक्ति सहभागि हुन पाउने प्रावधान रहेको छ ।
त्यस्तै, कहिलेकाही बीमा कम्पनीहरुको लापरवाहीले समस्या खेप्नु परेको सर्भेयरहरुले गुनासो गर्दै आएका छन् । बीमा कम्पनीहरुले बीमितहरुलाई स्पष्ट जानकारी नदिई बीमा गरेको समेत भेटिएको सर्भेयरहरु बताउँने गर्छन् । बीमकले विमितले बीमा गर्न चाहेको सम्पतिको नभई अर्को सम्पतिको बिमा गरेको समेत भेटिएको एक सर्भेयरले बताउँछन् । तर, यस बिषयमा बीमित भने वेखबर हुन्छन् । जब क्षति हुन्छ र सर्भे गरिन्छ तब मात्रै बीमा गरिएको सम्पतिको कुन हो भनेर बीमितले थाहा पाउँछन् । त्यतिबेला सर्भेयरहरु बीमितको आक्रोशको शिकार बन्नु परेको सर्भेयरहरु बताउँछन् ।
बीमा सर्भेयरको लागि बीमा समितिबाट करिब पाँच सयले अनुमति लिएको नेपाल बीमा सर्भेयर संघले बताउने गरेपनि एक सय ५० जनाले मात्र सक्रिय रुपमा यही पेशामा लागेका छन् । इन्जिरियरिङ्ग र चाटर्ड एकाउण्टेटको अध्ययन पुरा गरेका वा कुनै पनि बीमा कम्पनीमा १० बर्षसम्म अधिकृत तहमा काम गरेका व्यक्तिले सर्भेयरको अनुमति लिन पाउँछन् । यसका लागि समितिले प्रदान गर्ने एक हप्ताको तालिम अनिवार्य रुपमा लिनु पर्छ । समितिले २०५० साल देखि सर्भेयर लाईसेन्स दिन थालेको हो ।