बीमा न्युज,
भदौ २९, काठमाडौ÷ निक्षेप तथा कर्जा सुरक्षण (बीमा) कोषले गत आर्थिक बर्ष २०७३÷७४ मा पशुधन सुरक्षण दाबी बापत १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कोषले पशुधन दाबी बापत जम्मा १ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
तथ्यांक अनुसार उक्त अवधिमा ४१४ कृषकले दाबी गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ४२७ कृषकले ४३० वटा पशुको दाबी गरेका थिए ।
त्यस्तै, उक्त अवधिमा विराटनगरका १७७ जना कृषकले १७७ वटै पशुधनको लागि दाबी गरेको थिए । चितवन क्षेत्रबाट भने १४३, जना कृषकले १४३ वटै पशुधन लागी दाबी गरेको थिए । चितवनका १६ जना कृषकको १६ वटा पशुधन बापतको दाबी गरेका थिए भने पोखराबाट ३३ र नेपालगन्जबाट ४५ जना कृषकले सोही अनुपातमा दाबी गरेका थिए ।
विराटनगर क्षेत्रबाट परेको दाबी बापत कोषले ६९ लाख ७५ हजार रुपैयाँ कोषले भुक्तानी गरिसकेको छ । उक्त रकम कुल दाबी भुक्तानी रकमध्ये ४१ दशमलव ३३ प्रतिशत हो । काठमाडौ क्षेत्रमा परेको दाबी बापत ६ लाख ८९ हजार रुपैयाँ कोषले दाबी भुक्तानी गरेको छ । यो रकम कुल दाबी भुक्तानीको जम्मा ४ प्रतिशत हो ।
त्यस्तै, पोखरा क्षेत्रबाट परेको दाबीको कोषले १४ लाख १४ हजार रुपैयाँ भुक्तान गरेको छ । नेपालगन्जबाट भने १२ लाख ३१ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
गत आवमा ११ हजार ३९ कृषकले १४ हजार ४२८ पशुधनको सुरक्षण (बीमा) गरेका थिए । जसबापत कोषले ७७ करोड ३९ लाख सुरक्षण रकम संकलन गरेको थियो । यो रकम अघिल्लो आवको तुलनामा करिब १६ प्रतिशतले बढी हो । पशुधन सुरक्षण गरे बापत भने कोषले गत आवमा ५ करोड १८ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ । जबकी कोषले ४ करोड ९० लाख रुपैयाँको लक्ष्य राखेको थियो ।
सुरक्षण गरिएका पशुको मृत्यू भएमा सुरक्षण रकमको ८० प्रतिशत र स्थायी रुपले अनुत्पादक भएमा गाई, बाच्छी, साँढे, गोरु, खच्चड, घोडा र गधाको हकमा ४० प्रतिशतले रकम भुक्तानी गर्छ । त्यस्तै, अन्य पशुधनको हकमा २५ प्रतिशत क्षतिपूर्ति भुक्तान गर्छ ।