बीमा न्युज,
भदौ ३१, काठमाडौं÷ बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर खरिद गरिएका पशुको सुरक्षण गर्ने कार्यमा विराटनगर क्षेत्रका कृषकहरु बढी सक्रिय देखिएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७३÷७४ को अवधिमा विराटनगर क्षेत्रका ५ हजार ७८८ कृषकहरुले ३१ करोड १७ लाख रुपैयाँ बराबरको पशुधन सुरक्षण गरेका छन् । यो रकम कुल पशुधन सुरक्षण रकमको करिब ४० प्रतिशत हो ।
कोषको नेपालका विभिन्न पाँच स्थानमा रहेका क्षेत्रिय कार्यलयहरुको तथ्यांक अनुसार काठमाडौ क्षेत्रमा पशुधन सुरक्षण गर्ने कृषकहरुको संख्या भने कम छ । गत आवमा काठमाडौमा क्षेत्रमा जम्मा ५४३ कृषकहरुले आफना ५९२ पशु बापत ३ करोड ४३ लाख रुपैयाँ बराबरको पशुधन सुरक्षण गरेका छन् । यो रकम कुल पशुधन रकमको ४ दशमलव ४४ प्रतिशत हो ।
तर, समग्रमा पशुधन सुरक्षणमा कृषकहरुको आकर्षण भने कम देखिएको छ । तथ्यांक अनुसार गत आवमा ११ हजार ३९ कृषकले मात्रै पशुधनको सुरक्षण गरेका छन् । यो संख्या कोषले लिएको लक्ष्य भन्दा करिब २२ प्रतिशतले कम हो भने अघिल्लो आवको तुलनामा करिब १३ प्रतिशतले कम हो ।
गत आवको अन्त्यसम्ममा कर्जा लिएर खरिद गरिएकोे १४ हजार ४२८ पशुको मात्रै सुरक्षण गरिएको छ । यो संख्या अघिल्लो आवको तुलनामा करिब ४ प्रतिशतले कम हो । कोषले गत आवको अन्त्यसम्ममा १६ हजार पशुधनको सुरक्षण गर्ने लक्ष्य लिएको थियो । त्यस्तै, उक्त अवधिमा कोषले ७७ करोड ३९ करोड रुपैयाँ बराबरको पुशधन सुरक्षण गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब १६ प्रतिशतले बढी हो ।
दुग्ध उत्पादन, फार्म सञ्चालन, दुवानी, मासु उत्पादन, जोताई आदि प्रयोजनका लागि वित्तिय संस्थाबाट कर्जा लिई खरिद गरिएको पशुको कोषमा सुरक्षण हुने व्यवस्था रहेको छ । आफनै लगानीबाट कम्तिमा १० वटा ठूला पशुपालन गर्ने कृषकले पनि आफनो पशु सुरक्षण गर्न सक्नेछन् ।
पशुको सुरक्षण गर्दा कृषकले सुरक्षण शुल्क बुझाउँनुपर्छ । ७५ हजार रुपैयाँसम्मको पशु भएमा कृषकले बार्षिक ७ प्रतिशत र सो भन्दा माथिको भएका बार्षिक ६ प्रतिशत शुल्क भुक्तान गर्नुपर्छ । त्यस्तै, ७५ हजारसम्मको पशुको सुरक्षण गर्दा ५ प्रतिशत र सो भन्दा माथिको सुरक्षण गर्दा सरकारले ४.५ प्रतिशत अनुदानको व्यवस्था गरको छ ।