बीमा न्युज,
असोज १, काठमाडौं । गत आर्थिक बर्ष २०७३÷७४ जीवन बीमा कम्पनीहरुले १६ लाख भन्दा बढी बीमा योजना जारी गरेका छन् । बीमा समितिले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्त्य सम्ममा कम्पनीहरुले १६ लाख १३ हजार ९२२ वटा जीवन बीमा योजना विक्री गरी सकेका छन् । जस बापत कम्पनीहरुले ३९ अर्ब ९१ करोड रुपैयाँ संकलन गरेका छन् ।
तथ्यांक अनुसार गत आवको चौथो त्रैमास सम्ममा मेट लाईफ इन्स्योरेन्स कम्पनीले ५ लाख ८४ हजार ९६४ वटा बीमालेख जारी गरेको छ । यो संख्या नौ जीवन बीमा कम्पनीहरुले जारी गरेको कुल संख्याको ३६ प्रतिशत हो । जारी भएको बीमालेखको आधारलाई हेर्ने हो भने मेट लाईफ इन्स्योरेन्स सबैभन्दा अग्रपंक्तीमा देखिएको छ । त्यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २ लाख ६७ हजार ६५८ वटा बीमालेख जारी गरेको छ । यो संख्या कुल जारी बिमालेखेका १६ दशमलव ५८ प्रतिशत हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले भने गत आवको अन्त्यसम्ममा २ लाख ६० हजार ७२८ वटा बीमालेख जारी गरेको छ । यो संख्या जारी भएको कुल बीमालेखको १६ दशमलव १५ प्रतिशत हो ।
तर, कम्पनीहरुले आर्जन गरेको प्रथम बीमाशुल्कको आधारमा हेर्ने हो भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अग्रपंक्तीमा देखिएको छ । गत आवको असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो रकम कुल बीमाुशल्कको ३१ प्रतिशत हो । साथै कम्पनीले नविकरणीय बीमाशुल्क बापत ९ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले भने गत आवमा प्रथम बीमाशुल्क बापत २ अर्ब ६३ करोड रुपैयाँ आम्दान गर्न सफल भएको छ । यो रकम कुल बीमाशुल्क आर्जनको २० प्रतिशत हो । नविरकण बीमाशुल्क बापत भने कम्पनीले ६ अर्ब ७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । त्यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गत आवमा प्रथम बीमाशुल्क बापत १ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ भने नविकरणीय बापत ३ अर्ब ४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।