बीमा न्युज,
भदौ २, काठमाडौं । सनराईज बैंकले सुरक्षित घर कर्जा अन्तर्गत कर्जा लिएका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले सुरक्षित घर कर्जा अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा रकम बराबरको बीमा गरेको थियो । यसै योजना अन्तर्गत कर्जा लिएका श्रीप्रसाद तण्डुकारको निधन भएपछि बैंकले बोनस सहितको बीमा रकम तुण्डुकार परिवारलाई उपलब्ध गराएको छ ।
सुरक्षित घर कर्जा योजनाको साझेदार प्राइम लाइफको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले मृतक ग्राहकका छोरा सुमन तण्डुकारको उपस्थितिमा बीमा रकम र बोनस सहित १५ लाख ७४ हजार दुई सय ५० रुपैयाँ सनराईज बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाललाई हस्तान्तरण गरेको हो । जस मध्ये १५ लाख रुपैयाँले बैंकको सावाँ रकम चुक्ता गरिनेछ भने बाँकी बोनस रकम मृतकका छोरा सुमन तण्डुकारलाई उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई ऋण रकम बराबरको सार्वधिक जीवन बीमा सहितको सनराइज सुरक्षित घर कर्जा योजना विगत २ वर्ष देखि संचालनमा ल्याएको छ । यसमा ग्राहकहरुको कर्जा रकम बराबर जीवन बीमा गरिनुको साथै निजहरुलाई बीमाको अवधि अनुसार बोनसमा समेत सहभागिता गराइँदै आएको छ । साथै कथम्–कदाचित ग्राहकको मृत्यु भएमा बीमा कम्पनीबाट पूर्ण रुपमा कर्जा रकम चुक्ता गरिनुको साथै तोकिएको असाध्य रोगले ग्रसित भई अशक्त भएमा बीमा सुविधा बापत हरेक महिना निश्चित रकम निश्चित समयका लागि प्रदान गरिने व्यवस्था रहेको छ । यस कर्जा योजना अनुसार कर्जाको सम्पूर्ण दायित्व बीमा कम्पनीले बहन गरिदिने हुनाले निजका परिवार समेत बैंक प्रतिको आर्थिक दायित्वबाट मुक्त हुनेछन् ।