बीमा न्युज,
असोज ४, काठमाडौं । बीमा समितिबाट कारोबार सञ्चालनका लागि अन्तिम सैद्धान्तिक सहमती लिएका नयाँ जीवन बीमा कम्पनीहरुले धमाधम कारोबार शुरु गर्न थालेका छन् । अन्तिम पटक कारोबार स्वीकृति लिएका सन नेपाल लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्योरेन्स कम्पनीले शुक्रबार औपचारिक रुपमा कारोबार शुरु गर्ने भएका छन् ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनीले समितिबाट गत आईतबार कारोबारको लागि अन्तिम स्वीकृती लिएको थियो । कम्पनीले शुक्रबार आफनै कर्पोरेट कार्यलयबाट कारोबारको शुभारम्भ गर्न लागेको हो । दुई अर्ब चुक्ता पूँजी रहेको उक्त कम्पनीको अध्यक्ष शुलभ अग्रवाल हुन् भने मनोज कुमार लाल कर्ण प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
त्यस्तै, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गत शुक्रबार समितिबाट कारोबार सञ्चालनको लागि अन्तिम स्वीकृति लिएको हो । दुई अर्ब चुक्ता पूँजी रहेको उक्त कम्पनीको अध्यक्ष अनुज कायल हुन् भने महाप्रबन्धकमा कमलराज गौतम नियुक्त भएका छन् । आगामी शुक्रबार कम्पनीको कर्पोरेट कार्यलय कमलादीमा एक कार्यक्रमको आयोजना गरी औपचारिक शुभारम्भ हुने भएको छ ।
त्यस्तै, स्टार लाईफ इन्स्योरेन्स कम्पनीले असोज ८ गते औचारिक रुपमा कारोबार शुरु गर्ने तयारी गरेको छ । बीमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालनको स्वीकृत पाएका १० कम्पनीमध्ये ९ कम्पनीले पूँजी कायम गरि सकेका छन् । पूँजी कायम गरेका कम्पनीमध्ये आईएमई लाईफ, ज्योति लाईफ, रिलायवल लाईफ, सन नेपाल लाईफ र युनियन लाईफ इन्स्योरेन्स कम्पनीले कारोबारको अन्तिम स्वीकृति समेत लिई सकेका छन् । जसमध्ये आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले गत भदौ १ गते देखि नै कारोबार शुरु गरि सकेको छ ।