बीमा न्युज,
असोज ८, काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले पनि औपचारिक रुपमा कारोबारको शुभारम्भ गरेको छ । कम्पनीले गत शुक्रबार काठमाडौ नयाँ बानेश्वर स्थित कर्पोरेट कार्यलयमा एक कार्यक्रमको आयोजना गरी औपचारिक शुरुवात गरेको हो । कम्पनीको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले गरेका थिए ।
गत बैशाख २४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको युनियनले गत असार २० गते बीमा समितिबाट इजाजत प्रमाणपत्र पाएको थियो । त्यस्तै गत असोज ४ गते समितिबाट कारोबार सञ्चालन अनुमती प्राप्त गरेको थियो ।
कारोबार शुभारम्भ गरिएसँगै कम्पनीले बीमालेख जारी गर्ने अभियानको थालनी गरेको छ । प्रारम्भिक चरणमा करिब २५ वटा शाखाहरुबाट कम्पनीले बीमा व्यवसाय शुरु गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीका सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार जीवन बीमा योजनाहरु रहेका छन् । निकट समयमा नै प्रभावकारी बीमा योजनहरु ल्याउने गृहकार्य भईरहेको कम्पनीले बताएको छ ।
कम्पनीको अध्यक्ष शुलभ अग्रवाल रहेका छन् भने सञ्चालकमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल रहेका छन् । यसैगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, न्यौपाने ग्रुप, गाडिया ग्रुप, टिवडेलाल गु्रप र राजेश हार्डवयर रहेका छन् ।
जीवन बीमा व्यसायको क्षेत्रमा व्यवसायको क्षेत्रमा योजनाबद्ध र बृहद सोच सहित प्रवेश गरेको यस कम्पनीले व्यवसाय प्रबद्र्धनका साथै आम मानिसहरुमा बीमाको पहुँच अभिबृद्धि गराउने कार्यलाई प्राथमिकता दिने बताएको छ । कम्पनीले आम मानिसहरुको जीवन परिवर्तन हुने गरी बीमा बजारको माग र आवश्यकता अनुसार नविनतम् बीमा योजनाहरु ल्याउने, कम्पनीको साख र प्रतिष्ठा अभिबृद्धि गर्दै आम मानिसहरुको मन जित्ने र बीमा बजारमा स्थापित हुने लक्ष्य कम्पनीले लिएको छ ।
समितिबाट कारोबारको अन्तिम स्वीकृति लिएका कम्पनीमध्ये आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले भदौ एक गतेबाट नै कारोबार शुरु गरि सकेको छ । त्यस्तै, सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले पनि शुक्रबारबाट कारोबार शुरु गरेको छ । ज्योति लाईफ, रिलायवल र स्टार लाईफ इन्स्योरेन्स कम्पनीले कारोबार शुरु गर्ने तयारी गरेका छन् ।