बीमा न्युज,
असोज ८, काठमाडौ । बाढीका कारण दाबी परेको निर्जीवन बीमा कम्पनीहरुमध्ये नेशनल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले भुक्तानी गरेका छन् । बीमा समितिका अनुसार असोज एक गतेसम्म दुई कम्पनीहरुले ३ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । कम्पनीहरुले २३ वटा दाबी बापत उक्त रकम भुक्तानी गरेका हुन् ।
समितिका प्राप्त भएको तथ्यांक अनुसार नेशनल इन्स्योरेन्सले मात्रै १९ वटा दाबीको भुक्तानी गरेको छ । जसबापत कम्पनीले ३ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै अब कम्पनीमा ५६ वटा दाबी बापत २९ करोड ३२ लाख भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीले अग्नि बीमा अन्र्तगत परेका १८ वटा दाबी बापत ३ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, सामुन्द्रिक बीमा अन्र्तगत परेको दाबीमध्ये एक वटा दाबीको भुक्तानी गरेको जसबापत २० लाख रुपैयाँ भुक्तानी भएको छ ।
दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स दोस्रोमा रहेको छ । कम्पनीले ४ वटा दाबी बापत १ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले मोटर बीमा अन्र्तगत परेको दाबीको भुक्तानी गरेको हो । अब कम्पनीमा ६६ वटा दाबी बाँकी रहेका छन् । जसबापत कम्पनीले १७ करोड १४ लाख भुक्तानी गर्नुपर्नेछ । अन्य कम्पनीहरुको सर्भे प्रतिवेदन आउन बाँकी रहेकाले भुक्तानी हुन नसकेको समितिले जनाएको छ ।
कुनै पनि बीमा कम्पनीमा दाबी परेपछि सर्भेयरले क्षतिको मूल्यांकन गर्छ । त्यसपछि मात्रै बास्तविक क्षतिको आंकलन गर्न सकिन्छ । अर्थात् भुक्तानी गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । यद्यपी कम्पनीहरुले भने दाबी भुक्तानी गर्न शुरु गरि सकेका छन् । अन्य कम्पनीहरुले पनि भुक्तानी गर्ने तयारी गरेको समितिका निर्देशक राजुरमण पौडेलले बताउनुभयो ।
तराई क्षेत्रमा आएको बाढी कारण निर्जीवन बीमा कम्पनीहरुमा ६६२ वटा दाबी बापत २ अर्ब भन्दा बढी दाबी परेको थियो । त्यस्तै, कम्पनीहरुमा परेको दाबीमध्ये अब ६३९ वटा दाबी बापत करिब १ अर्ब ९९ करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।
कम्पनीहरुमा सबैभन्दा बढी अग्नि बीमाको दाबी परेको थियो । अग्नि बीमा अन्र्तगत ३०३ वटा बापत १ अर्ब ३१ करोड रुपैयाँ दाबी परेको छ । त्यस्तै, मोटर अन्र्तगत १२९ वटा बापत २ करोड ११ लाख रुपैयाँ दाबी परेको छ । इन्जिनियरिङग् बमिा (निर्माणधीन आयोजना) ११३ वटा बापत ५६ करोड ५१ लाख रुपैयाँ दाबी परेको छ । इन्जिनियरिङग् बीमा (निर्माण सम्पन्न भै सकेको आयोजना) मा ३७ वटा बापत ८ करोड ४४ लाख रुपैयाँ दाबी परेको छ । सामुन्द्रिक बीमा अन्र्तगत ३ वटा बापत ७४ लाख ५० हजार रुपैयाँ दाबी परेको छ । कृषि बीमा अन्र्तगत भने ७७ वटा बापत ३ करोड १८ लाख रुपैयाँ दाबी परेको छ ।
यो पनि पढ्नुहोस्