बीमा न्युज,
असोज ९, काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो शेयर धनीलाई २० प्रतिशत बोनस वितरण गर्ने भएको छ । सञ्चालक समितिको १७२ औं बैठकले सञ्चित नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
बीमा समितिबाट स्वीकृत भएर कम्पनीको १६ औं बार्षिक साधारणसभाबाट अनुमोदनपछि सेयरधनीलाई बोनस शेयर वितरण हुनेछ । बोनस वितरणपछि कम्पनीको चुक्त्ता पूँजी ५१ करोड ३२ लाख १६ हजार रूपैयाँ पुग्नेछ । हाल रहेको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने आठ करोड ५५ लाख ३६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि एक दशमलव ०५ प्रतिशत बराबरको ४५ लाख एक हजार ८९५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरि बीमा समितिमा स्वीकृतिका लागि पेश गरिएको छ ।
इन्स्योरेन्स कम्पनीले १० बराबर ३ अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति माग गरेको हो । हकप्रदपछि कम्पनीको पूँजी ६४ करोड १५ लाख २० हजार कायम हुनेछ । बीमा समितिको निर्देशन अनुरूप कम्पनीले २०७५ असार मसान्तमा एक अर्ब पूँजी कायम गर्नुपर्नेछ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षमा १७ करोड १३ लाख १९ हजार रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४० रुपैयाँ ०६ पैसा कायम गरेको थियो ।
प्रुडेन्सियलको जगेडा कोषमा ३४ करोड ३२ लाख २५ हजार रुपैयाँ सञ्चित छ । बीमा कोषको आकार ४० करोड एक लाख ३२ हजार रुपैयाँ पुर्याएको इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता १४२३ रुपैयाँ रहेको छ ।