बीमा न्युज,
असोज १२, काठमाडौँ ।
यदि तपाईले बीमा गर्नुभएको छ, वा बीमा गर्ने सोचमा हुनुहुन्छ भने तपाईलाई बीमाका केही प्राविधिक शब्द बुझाईमा कठिनाई भइरहेको हुन सक्छ । अथवा तपाई भविष्यमा बीमा क्षेत्रमा प्रवेश गर्नेबारे सोच्दै हुनुहुन्छ भने तपाईले बीमा क्षेत्रमा प्रयोग हुने सामान्य प्राविधिक शब्दबारे जान्नै पर्ने हुन्छ । बीमा क्षेत्रमा प्रयोग हुने यस्तै केही प्राविधिक शब्दावली हामीले यहाँ प्रस्तुत गरेका छौ ।
बीमक :
बीमा क्षेत्रमा अत्याधिक प्रयोग हुने शब्दमा बीमक पनि एक हो । बीमक शब्दले बीमा गर्ने कम्पनीलाई बुझाउँदछ ।
बीमित :
कुनै पनि प्रकारको बीमा योजना खरिद गर्ने व्यक्ति वा संस्थालाई बीमित भनिन्छ ।
बीमालेख :
बीमा क्षेत्रमा सबैभन्दा धेरै प्रयोग गरिने शब्द हो बीमालेख । बीमालेख भनेको बीमा गर्ने पक्ष बीमीत र बीमा गराउने पक्ष बीमक बीच भएको सम्झौता पत्र हो । अर्थात् बिमा योजना हो ।
बीमांकी :
बीमामा बिमांकीको सबैभन्दा महत्वपूर्ण भूमिका रहन्छ । बिमा गरिने कुनै पनि कुराको दायित्व निर्धारण तथा गणना गर्नको लागि बीमा कम्पनीद्धारा खटाईएको वा नियुक्त गरिएको व्यक्तिलाई बीमाकीं भनिन्छ ।
बीमा अभिकर्ता :
बीमा कम्पनी र बीमित बिच सहजीकरण गर्ने व्यक्ति नै बीमा अभिकर्ता हो । अभिकर्ता बन्नको लागि बीमा समितिबाट अनुमति लिएको हुनुपर्छ ।
सर्भेयर :
सर्भेयर भनेको बीमा गरिएको वस्तुको मुल्याङ्कन गर्न कानूनी रुपमा इजाजत–पत्र प्राप्त व्यक्ति वा संस्था हो । कुनै पनि बस्तुको विमा गर्नुपूर्व वा क्षतिग्रस्त भै सकेपछि त्यसको बास्तविक मूल्य पत्ता लगाउने काम सर्भेयरको हो ।
जोखिम :
आर्थिक नोक्सानी हुन सक्ने अनिश्चित परिस्थिति नै जोखिम हो ।
दुर्घटना :
वाहिरी, आंखाले स्पष्ट देख्न सकिने र सांघातिक तवरबाट हुने आकस्मिक वा अप्रत्यासति घटनालाई बीमा क्षेत्रमा दुर्घटना भन्ने गरिन्छ ।
स्थायी पूर्ण अशक्तता :
बीमितले आफ्नो जीवन निर्वाहका लागि आय वा मुनाफा आर्जन गर्ने कुनै पनि ब्यवसाय वा पेशा गर्न सधैको लागि असमर्थ भएको अवस्था हो । बीमा ऐन २०४९अनुसार दुर्घटना भएको मितिदेखि ३सय ६५ दिनसम्म बीमित स्थायी पूर्ण अशक्त रहेमा उसलाई सदाको लागि स्थायी पूर्ण अशक्त मानिन्छ ।
अस्थायी पूर्ण अशक्तता :
भन्नाले बीमित व्यक्ति आय वा मुनाफा आर्जन गर्ने कुनै पनि व्यवसाय वा पेशा गर्न शारिरीक रुपमा केहि समयको लागि पूर्ण रुपले असमर्थ हुनुलाई अस्थायी पूर्ण अशक्तता भनिन्छ ।
जोखिम समूह :
हुलदंगा, हडताल, नागरिक उपद्रव, द्वेषपूर्ण कार्य, आतंकवाद तथा विध्वंशात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटनालाई जोखिम समूह भनिन्छ ।
साप्ताहिक आय :
बीमितले आर्जन गर्ने गरेको मासिक आम्दानीको चार भागको एक भाग नै साप्ताहिक आय हो ।
दलाल :
बीमा व्यवसाय सम्बन्धमा बीमक–बीमक, तथा पुनर्बीमक–बीमकको बिचमा माध्यम वा मध्यस्तकर्ताको रुपमा काम गर्ने इजाजत–पत्र प्राप्त व्यक्ति वा संस्था हो ।
स्रोत : बीमा समिति