असोज १३,काठमाडौँ ।
बीमा आकास्मिक दुर्घटनाहरुले निम्त्याउने आर्थिक जोखिमको सामान गर्ने बलियो माध्यम हो । बीमा आर्थिक सुरक्षाको सबैभन्दा सजिलो र सुरक्षित उपाय पनि हो । बचत, सुरक्षा र भविष्यका योजनलाई केन्द्रित गरेर बीमा गर्न सकिन्छ । जीवन बीमाले मृत्यु पछिको लागि मात्रै नभई जीवीत रहुञ्जेल पनि आर्थिक सहायता प्रदान गर्ने गर्छ । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने संस्था) बिच जोखिम हस्तान्तरण गर्ने सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले बीमितको नोक्सानीको क्षतिपूर्ति व्योहोर्ने गर्छन् । जीवनमा अचानक आइपर्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुनसक्ने जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा प्रक्रियागत सम्झौतालाई बीमाको रुपमा बुझ्न सकिन्छ ।बीमालाई सुरक्षित लगानीको रुपमा लिन सकिन्छ । जीवन बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमितले इच्छाएको व्यक्तिले बीमा कम्पनीबाट दाबी भुक्तानी पाउँछ । यसका बावजुदमा पनि नेपालमा धेरै मानिस बीमाको दायरामा आउन सकेका छैनन । फलस्वरुप धेरै परिवारले आर्थिक संकट भोग्नु परेको छ ।
बीमा गर्दा हुने फाइदा
आर्थिक जोखिम हस्तान्तरण
व्यक्तिको जीवनमा कतिखेर कस्तो अवस्थाको सामना गर्नुपर्छ त्यसको पुर्वानुमान गर्न सकिदैन । व्यक्तिको जीवनमा आईपर्ने जोखीमको आर्थिक सुरक्षण बीमाले गर्न सक्छ । कुनै घटना वा दुर्घटनाका कारण परिवारमा आइपर्ने आर्थिक संकटको सामाधान पनि बीमा हुन सक्छ ।
पुँजी निर्माण
हरेक मानिसले आफुले गर्ने आम्दानीका आधारमा योजनाहरु तय गर्ने गर्छन । ति योजनाहरु पुरा गर्नको लागि बीमा महत्वपूर्ण स्रोत हो । जीवन बीमामा निश्चित समयावधिमा रकम तिर्नु पर्ने हुन्छ, जसले आर्थिक जीवनलाई अनुशासित बनाउँछ । अर्कातर्फ यसरी तपाईको रकम पनि बचत भइरहेको हुन्छ । जब बिमा अवधि समाप्त हुन्छ त्यतिखेर यो रकम तपाईको पुँजीको रुपमा तपाईसंग रहन्छ ।
लामो समयको लागि बचत
बीमाको अर्को महत्वपूर्ण फाईदा भनेको दिर्घकालिन बचत पनि हो । बीमाको अवधिमा तपाईले तिर्नू भएको बीमा शुल्क तपाईको दिर्घकालिन बचतका रुपमा रहने गर्छ । जुन भविष्यमा आवश्यक परेको खण्डमा प्रयोग गर्न सजिलो हुन्छ । भने तपाईलाई ऋणको जोखिमबाट पनि मुक्त हुनुहुनेछ ।
जीवनमा आईपर्ने आवश्यकताको परिपुर्ति 
जीवनमा कुन समयका कस्तो आवश्यकता आई पर्छ, भन्न सकिदैन् । त्यसकारण पनि यस्ता आवश्यकता परिपुर्ति गर्नको लागि बीमा सहयोेगी बन्न जान्छ । बीमा कम्पनीले तपाईको कुल बीमा शुल्कको ९० प्रतिशत रकम ऋण स्वरुप उपलब्ध पनि गराउने गर्छन् । जसका लागि कुनै अचल सम्पती धितो राख्नु पनि पर्दैन् । बीमालेख धितो राखेमा यस्तो ऋण उपलब्ध हुन्छ ।
करमा छुट
बिमा गरेको व्यक्तिले बिमा शुल्कको रकमा कर छुट पाउछन् । यसले तपाईको रकम पनि बचत हुन्छ भने करमा पनि छुट पाइृन्छ ।बीमा गराउनुको मुख्य उदेश्य र विषम परिस्थितिको आवश्यकता हेरेर मात्रै बीमा पोलीसीको छनौट गर्नु पर्छ । बीमा शुल्क समयमै भुक्तान गर्ने गर्नु पर्छ, र भुक्तान गरेको रसिद सुरक्षित राख्ने गर्नु पर्छ ।
जसरी आम मानिसले आफनो जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् त्यसैगरी बीमा कम्पनीले पनि आफनो जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गरेको हुन्छ । जसलाई पुर्नबीमा मानिन्छ । यसरी बीमा कम्पनीको पनि जोखिम बहन गर्ने कम्पनीलाई पुर्नबीमा कम्पनी भनिन्छ । बीमा कम्पनीले पनि आफुले वहन गरेको जोखिमको बीमा गराउने हुँदा बीमामा गरिएको लगानी अन्य लगानी भन्दा सुरक्षित मानिन्छ ।