बीमा न्युज,
काठमाडौं । अर्थमन्त्रालयले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतको लागी तीन जनाको नाम छनोट गरेको छ । मन्त्रालयले छनोट गरेको तीन जनाको नाम मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव गरिने छ । अन्तिम तीन जनाका लागी मन्त्रालयले विष्णु बाबु मिश्र, डा.धमानसिंह खड्का र विनोदकुमार कार्कीको नाम सिफारिश गरेको स्रोतले बताएको छ ।
कोषको प्रमुखको लागी सरकारले असार १५ गते नै विज्ञापन प्रकाशित गरेको थियो । जसमा आठ जनाले आवेदन दिएका थिए । नवराज भट्ट, कृर्तिराज सुवेदी, श्री प्रसाद पौडेल, भास्कर रिमाल, विनोदकुमार कार्की, नमिता हमाल, डा.धमानसिंह खड्का र विष्णु बाबु मिश्रको आवेदन परेको थियो । जसमध्ये मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिश समितिले पाँच जनाको नाम छनौट गरेको थियो । पाँचजनामध्ये बुधबार तीन जनाको नाम छानिएको हो ।
कोषको प्रमुखका कार्यकारी अधिकृतको लागि अन्तिम तीनमा परेकामध्ये डा.घमानसिंह खड्का नयाँ बानेश्वर क्याम्पसका प्रमुख हुन् । यस अघि उनले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत काम गरि सकेका छन् । त्यस्तै, विष्णु बाबु मिश्र कोषका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । कोषमा प्रधान सहायकबाट प्रवेश गरेका मिश्र हाल नायव प्रमुख कार्यकारी रुपमा कार्यरत छन् । त्यस्तै, विनोद कुमार कार्की बैंकर हुन् ।