बीमा न्युज,
असोज २३, काठमाडौ । लामो समय देखि रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त पाएका छन् । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको सीइओ नियुक्त गरेको हो ।
अर्थमन्त्रालयले गठन गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले चन्द्रसिंह साउद सहित प्रमोदराज शर्मा र मनोज ज्ञवालीलाई सिफारिस गरेको थियो ।
गत असार २५ मा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल सकिएपछि खुला प्रतिस्पर्धावाट पदपुर्ति गर्ने प्रकृया अगाडि बढाएको थियो ।
नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा पाँच बर्षको अनुभव भएका तीस बर्ष पुरा भई साठी बर्ष ननाघेका व्यक्तिहरुबाट आवेदन माग गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १३ जनाले आवेदन दिएका थिए । यी आवेदकमध्येबाट छनोट तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना र दोस्रो चरणमा तीन जनाको नाम सार्बजनिक गरेको थियो ।
चन्द्रसिंह साउदसँग नेपाल इन्स्योरेन्स कम्पनीमा २२ वर्ष काम गरेको अनुभव छ । उक्त कम्पनीमा २०५१ सालमा छैटौं तहमा प्रवेश गरेका उनले प्रमुख कार्यकारी अधिकृत हुँदै २०७३ मा अवकाश पाएका थिए । साउद अहिले चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्टका अध्यक्ष हुन । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका साउद नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्य समेत थिए ।