बीमा न्युज,
काठमाडौ । भर्खरै सञ्चालनमा आएका नयाँ बीमा कम्पनीलाई कर्मचारी नियुक्तीमा हम्मे हम्मे परेको छ । नेपालमा बीमा सम्बन्धी दक्ष जनशक्तिको अभाव हुँदा कम्पनीहरुलाई चाहे जस्तो जनशक्ति पाउन गाह्रो भएको हो । त्यसैले कम्पनीहरु सक्षम कर्मचारीको खोजीमा छन् ।
बीमा समितिबाट बीमा व्यवसायको लागी अनुमति पाएका नौ वटा कम्पनी मध्ये चार वटा कम्पनीले औपचारिक रुपमा नै कारोबार शुरु गरि सकेका छन् । कम्पनीहरुले माथिल्लो तहमा अनुभवी र तल्लो तहमा नयाँ कर्मचारी राखेर काम गर्ने योजना बनाई रहेका छन् । तर, अनुभवी कर्मचारीले उच्च पारिश्रमिक र तहको माग गरेपछि कम्पनीहरु अप्ठेरोमा परेका हुन् ।
सञ्चालनमा आएका अधिकांश नयाँ कम्पनीहरुले हाल न्यूनत्तम कर्मचारी मात्रै नियुक्त गरेका छन् । कारोबार नै नभएपछि काम पनि थोरै हुने भएकाले कर्मचारी नियुक्तीमा पनि ढिलाई भएको कम्पनीहरुले जनाएका छन् ।
केही कम्पनीहरुले भने नयाँ कर्मचारीलाई तालिम दिन शुरु गरेका छन् । प्रत्येक हप्ता अनुभवी कर्मचारी र नयाँ कर्मचारी बिच तालिम र छलफल सञ्चालन गर्दे आएको युनियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताउनुभयो । “हामीले सबै कर्मचारीलाई सबै खालका कामको बारेमा जानकारी दिई रहेका छौ । हामी चाहन्छौ एउटा कर्मचारीले सबै विभागको कामको बारेमा जानकारी पाओस,” उहाँले भन्नुभयो ।
धेरै जसो कम्पनीहरुले अनुभवी कर्मचारीले नयाँ कर्मचारीलाई सिकाउँदै लैजाने रणनीति अंगालेका छन् । बजारमा बीमा सम्बन्धी दक्ष जनशक्ति उपलब्ध नभए पनि नयाँ कर्मचारीलाई सिकाउन खासै गाह्रो नभएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक कमल राज गौतमले बताउनुभयो । “अहिले सबै काम सफट्वेयरबाट हुन्छ । शिक्षित व्यक्तिले सजिलै काम सिक्न सक्छ,” उहाँले भन्नुभयो ।