बीमा न्युज,
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा सुरक्षाका लागि खटिने म्यादी प्रहरीलाई तीन लाख ५० हजारको बीमा गरिने भएको छ । सरकारले प्रदान गर्ने तलब भत्ता बाहेक दुई लाखको दुर्घटना बीमा र एक लाख ५० हजारको स्वास्थ्य बीमा गरी तीन लाख ५० हजारको बीमा गरिने भएको हो ।
त्यससंगै म्यादी प्रहरीले एकजना जवानका बराबर मासिक तलव २१ हजार आठ सय २२, भौगोलिक अवस्थाअनुसार रासन भत्ताबापत उपत्यकामा पाँच हजार पाँच सयदेखि हिमाली जिल्लामा ११ हजार सम्म पाउँछन् । यदि विरामी परेमा एक लाख ५० हजार रुपैयाँ सम्म उपचारखर्च समेत सरकारले नै बेहोर्ने छ ।
म्यादी प्रहरीले पोशाक भत्ता पनि नगदमा नै पाउने भएका छन् । पोशाक खरिद देखि सिलाइसम्मको प्रक्रियामा आर्थिक अनियमितता हुन नदिन प्रहरी प्रधान कार्यालयले देशभरका म्यादी प्रहरीलाई तलव–भत्ता, रासन र पोशाक खर्च बापतको रकम बैंक खातामार्फत उपलव्ध गराउन लागेको हो । यससँगै म्यादी प्रहरीले आफूले चाहेको ठाउँमा कपडा खरिद देखी सिलाइसम्मको काम गर्न पाउनेछन् ।
निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिइसकेको छ ।