बीमा न्युज,
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय रिपोर्ट सर्वजानिक गरेको छ । यो कम्पनीले प्रस्तुत गरेको रिपोर्टको आधारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासको समीक्षा अवधिमा दुई करोड ६६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ८९ लाख २६ हजार मात्र नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो एक सय ९९ प्रतिशतले बढि नाफा गरेको हो ।
समीक्षा अवधिमा कम्पनीले बिमा शुल्कबाट हुने आयमा पनि बृद्धि आएको छ । अघिल्लो वर्षको यही अवधिमा २० करोड ५७ लाख बिमाशुल्कबाट आम्दानी भएकोमा यो वर्ष बढेर २८ करोड १० लाख पुगेको छ । लगानी, कर्जा तथा अन्यबाट हुने आयमा समेत अघिल्लोवर्ष तीन करोड ८९ लाख रुपैयाँ आय भएकोमा यो वर्ष बढेर आठ करोड ९६ रुपैयाँमा पुगेको छ ।
बिमालेख धितोमा कर्जाबाट हुने आय समेत बढेको छ । पहिलो त्रैमासमा ३२ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यहि त्रैमासमा १७ लाख ७० हजार रुपैयाँ मात्रै रहेको थियो । यस्तै समीक्षा अवधिमा गुराँस लाइफले तीन करोड ३० लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले एक करोड ६६ लाख बराबरको दाबी भुक्तानी दिएको थियो ।
कम्पनीको जीवन बीमा कोषमा पनि बृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा दुई अर्ब ३९ करोडमा सीमित जीवन बीमा कोषलाई अहिले तीन अर्ब ३१ करोड पुगेको छ । जगेडाकोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १७ करोड १६ लाख रुपैयाँ रहेको जगेडाकोषमा समीक्षा अवधिसम्म २१ करोड ८० लाख जम्मा भएको छ ।