बीमा न्युज,
काठमाडौं । बीमा समितिले पुनर्बीमा दलाललाई लाइसेन्स दिने भएको छ । पुनर्बीमा दलालको बिषयमा लामो समयदेखि मौन बसेकोे समितिले पुनर्बीमा दलालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको हो ।
दलाल कम्पनीहरू प्राविधिक रूपमा दक्ष हुन्छन् । त्यसैले पुनर्बिमा प्रक्रियामा दलालको ठूलो महत्व रहन्छ । नेपालमा भने हालसम्म यस्तो खालको दलालको व्यवस्था गरिएको छैन । तर, पछिल्लो समय विदेशी दलाल कम्पनीहरूले नेपाली बीमा कम्पनीहरूको पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीसँग गराउन थालेपछि समितिको ध्यान आकर्षित भएको हो ।
नेपालको पुनर्बीमा व्यवसायलाई अन्र्तराष्ट्रिय बजारमा पु¥याउन दलालको व्यवस्था गर्न जरुरी रहेको समेत समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताउनुभयो । “नेपालमा नै दलालको व्यवस्था भयो भने उनीहरूले नेपाली पुनर्बीमा कम्पनीको विदेशमा बजारीकरण गर्छन् र व्यवसाय भित्राउछ ।” उहाँले भन्नुभयो ।
बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच काम गर्ने कम्पनी पुनर्बीमा दलाल हो । यसले दुई पक्षबीच पुलको काम गर्छ । यस्तो कम्पनीले पुनर्बीमा कम्पनी र बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्दछ । दलाल कम्पनीले बीमा कम्पनीहरूलाई पुनर्बीमासम्बन्धी सल्लाह र सुझाव पनि उपलब्ध गराउछ् ।
बीमा ऐन २०४९ को धारा ३० मा दलाल दर्तासम्बन्धी व्यवस्था गरिएको छ । ऐनअनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गर्दा इजाजत पत्र दिनसक्नेछ । त्यस्तै, समितिले पुनर्बीमा व्यवसाय सम्बन्धि निर्देशिका जारी गर्दै दलालमार्फत पुनर्बीमा गर्न सकिने व्यवस्था गरेको छ ।
नेपाली बीमा कम्पनीहरूले जेबी बोडा (भारत), पायोनियर इन्स्योरेन्स ब्रोकर (भारत), फस्र्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतीय दलालमार्फत पनि पुनर्बिमा गर्दै आएका छन् ।