बीमा न्युज,
काठमाडौं ।गत आर्थिक वर्ष ०७३÷७४ मा कृषि बीमा व्यवसायबाट बीमा कम्पनीहरूले ४२ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । बीमा समितिको तथ्यांक अनुसार उक्त अवधिमा कम्पनीहरूमा २५ करोड ५८ लाख रुपैयाँ बराबरको दाबी परेको थियो ।
असार मसान्तसम्ममा कम्पनीहरूले संकलन गरेको बीमाशुल्कका आधारमा पशु बीमाको हिस्सा करिब ८३ प्रतिशत देखिएको छ । यस अवधिमा सात अर्ब तीन करोड रुपैयाँ बराबर पशु बीमा भएको छ । जसबाट कम्पनीहरूले ४२ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । कुल संकलन भएको बीमाशुल्कमध्ये पन्छी बीमाको हिस्सा ५ दशमलव ७१ प्रतिशत मात्रै हो ।
धेरै बीमालेख जारी हुनेमा पशुबीमा पछि दोस्रोमा पन्छी बीमा रहेको छ । पन्छी बीमाअन्र्तगत कम्पनीहरूले अष्ट्रिज, कुखुरा, हाँसलगायतका पन्छीजन्यको बीमा गर्दै आएका छन् । गत आवको अन्त्यसम्ममा कम्पनीहरूले ८४ करोड ५९ लाख बराबरको पन्छी बीमा गरेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताउनुभयो । जसबाट दुई करोड ४२ लाख बीमाशुल्क आर्जन गरेका बीमा समितिमा तथ्यांक छ ।
फलफूल बीमाको हिस्सा ४.३१, बाली बीमाको ३.१४, माछाको २.४९ र तरकारी बीमाको हिस्सा १.३८ प्रतिशत रहेको छ । तथ्यांक अनुसार कम्पनीहरूले ३६ करोड ५५ लाख बराबरको फलफूल बीमा गरेका छन् । जसबाट कम्पनीहरूले एक करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
कृषि बीमाअन्तर्गत सबैभन्दा धेरै पशु बीमामा २१ करोड ५८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । दोस्रोमा फलफूल बीमामा दुई करोड ३७ लाख रुपैयाँ र पन्छी बीमामा एक करोड ३८ लाख रुपैयाँको दाबी परेको छ ।