बीमा न्युज,
काठमाडौं । बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको पारिश्रमिक वृद्धि गर्न नयाँ व्यवस्था लागु गरेको छ । बीमा कम्पनीको सीईओको तलबभत्ता तथा सुविधिा वृद्धि गर्न कम्पनीमा कार्यरत अन्य कर्मचारीको पनि तलब बढाउनुपर्ने र बीमा कम्पनीहरुको आय आर्जमा पनि वृद्धि गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।
बीमा समितिले बीमा कम्पनीका कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन २०७४ जारी गर्दै कम्पनीले प्रमुख कार्यकारीको तलब वृद्धि गरे सबै कर्मचारीको पनि बढाउनुपर्ने र कम्पनीको सम्पत्ति पनि बढाउनुपर्ने व्यवस्था गरेको हो । मार्गदर्शन २०७४ को अनुसार प्रमुख कार्यकारीलाई प्रदान गर्ने तलब भत्ता तथा अन्य सुविधालाई बीमकले चार भागमा विभाजन गर्नुपर्ने हुन्छ तर निश्चित वार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पादनमा आधारित पारिश्रमिक, बिमासम्बन्धी सुविधाहरु र अन्य आर्थिक सुविधाहरु बाहेक अन्य कुनै पनि सुविधा उपलब्ध गराउन पाइनेछैन ।
बीमकले कार्यकारी प्रमुखलाई सावधिक दुर्घटना ,परिवारको स्वास्थ्य बीमाको बीमाशुल्क , अन्य सुविधाअन्तर्गत एक थान मोबाइल सेट र सोको वास्तविक खर्च, एक थान ल्यापटप, एक लाइन इन्टरनेट जडान र सोको वास्तविक खर्च, सवारी साधनको लागि आवश्यक पर्ने इन्धन र चालक वा नेपाल सरकारको प्रथम तह सरहको चालक खर्च, बीमकले कर्मचारीलाई छुटयाएको शेयर बापतको अंश मध्यमबाट कार्यकारी प्रमुखले प्राप्त गर्न सकिन्छ । पत्रपत्रिकाको लागि वार्षिक तलबको एक प्रतिशतसम्म खर्च सुविधा प्रदान गर्न सक्नेछ भने विदेश यात्रामा जाँदा ट्राभल तथा मेडिकल बीमाको सुविधा प्रदान गर्न सक्नेछ ।