बीमा न्युज,
काठमाडौं । च्याउ फूल नफूल्ने विरुवा अन्तगर्त फन्जाई वर्गका हुन् । चिसो, ओसिलो र कुहिएको वस्तुमा उम्रने यसका प्रजातीहरु अहिले सम्म संसारमा ३ हजार ८ सय जातको रहेको छ । त्यस मध्ये २ हजार जाती खान योग्य, एक हजार जाती विषालु र दुई सय च्याउ औषधिय गुण भएको तथ्य बैज्ञानिकहरुले पत्ता लगाएका छन् । ति च्याउहरुमा विभिन्न भिटामिन, प्रोटिन, थाइमिन, राइवोलेविन, नाइसिन, एसकभिर्भ एसिड, र विभिन्न मिनरल्सहरुका साथै भिटामिन ए,बि,सी र क्यासियम समेत पाइन्छ । त्यसैले यसलाई पोष्टिक र स्वथ्यकर खानको रुपमा लिइन्छ ।त्यसैको परिणम स्वरुप नेपालमा च्याउको माग समेत बढेदै गएको छ ।
पछिल्लो समय यसको व्यवसायिक खेति प्रति किसानहरुको आर्कषण समेत बढेको छ । किसानहरुको लगानी पनि बढ्दै गएको छ । हरेक व्यवसायमा जस्तै यो व्यवसायमा पनि उतिकै जोखिम हुन्छ । त्यसैले बीमा समितिले च्याउ खेती बीमालेख जारी गरेको छ । यस बीमालेखले विभिन्न कारण च्याउ खेतीमा हुने हानी, नोक्सानी वा क्षतिको आर्थिक सुरक्षा प्रदान गर्छ । बीमा अवधिभित्र च्याउखेतीको हानी–नोक्सानी वा क्षति भएमा बीमाङ्कको सिमा भित्र रहि सम्बन्धित पक्षलाई बीमकले भुक्तानी गर्दछ ।
बीमालेखले सुरक्षा गर्ने जोखिमहरू ;
यस बीमामा रक्षावरण गर्ने सिमाहरु सिमित छन् । क्षतिको सम्पुर्ण जोखिमलाई यस बीमाले समेट्दैन । आगलागी, चट्याङ, भूकम्प, बाढी/डुवान/खडेरी, पहिरो/भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरु र किरा तथा रोगबाट हुने हानी–नोक्सानी मात्रै लागत मूल्यको आधारमा क्षतिपूर्ति रकम भुक्तानी गर्दछ । बीमकले बीमाङ्कको सिमा सम्म वास्तविक क्षतीको रकम बीमितलाई भुक्तानी गर्दछ ।
क्षतिपूर्ति नदिने अवस्थाहरु ;
च्याउ खेतीधनी वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारणले क्षति भएमा, सरकारी निकायको आदेशमा च्याउखेतीलाई नष्ट गर्नुपर्ने भएमा, च्याउ चोरी भएमा वा मान्यता प्राप्त आधिकारीक स्रोतको बिउ प्रयोग नगरेमा, च्याउ धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दाबीप्रति उत्तरदायी हुनेछैन ।
सर्तहरु ;
बीमा गर्दा बीमितले निश्चित शर्तहरु पालना गर्नुपर्दछ्, अन्यथा बीमालेख रद्ध पनि हुन्छ । बीमा लेख रद्ध भएको अवस्थामा क्षतिपुर्ति बराबरको रकमबाट बीमित बन्चित हुन्छ । च्याउमा कुनै रोग/किरा वा दुवै लागेमा च्याउ धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्दछ । बीमकले चाहेको जुनसुकै समयमा च्याउखेती परीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई च्याउखेतीको परीक्षण गर्न दिनु पर्दछ । च्याउ धनीले च्याउखेतीको क्षति/हानी–नोक्सानी भएमा ३ दिनभित्र लिखित जानकारी बीमकलाई दिनु पर्नेछ । यस बीमालेख अन्तर्गत बीमा गरिएको च्याउखेतीको क्षति भएको कारणबाट हुने अन्य वा थप खर्च वा हानी–नोक्सानीको दाबी गर्न पाइदैन् ।
बीमाङ्क रकम कायम गर्ने तरिका ;
च्याउ उत्पादन सामग्रीको वास्तविक मूल्य, मेशिनरी औजारको वास्तविक मूल्य र टहरा खर्च तथा व्यवस्थापन खर्चको आधारमा बीमाङ्क कायम गरिन्छ । बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशत दरले लाग्छ । सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमाशुल्कमा पन्ध्र प्रतिशत छुट दिने प्रवधान रहेको छ ।
दाबी सम्बन्धी प्रक्रिया ;
बीमा गरिएको च्याउको हानी वा नोक्सानी/ क्षति भएमा १५ दिन भित्र आवश्यक कागजपत्रहरु सहित दाबी गर्नुपर्दछ । बीमा सकम दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रूपले भरिएको दाबी फाराम, प्राविधिकको प्रतिवेदन, सम्बन्धित गा.वि.स. वा न.पा. वा वडाको सर्जमिन मुचुल्का सहितको कागजातहरु बीमक समक्ष पेस गर्नु पर्दछ । त्यसपछि मात्रै दाबी भुक्तानी प्रकृया अघि बढ्छ ।