काठमाडौं ।
बीमा समितिले नयाँ कम्पनीहरुलाई लाईसेन्स वितरण गरेपछि बीमाको कारोबार बढेको जनाएको छ । समितिका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष बीमाको कारोबार झण्डै दोब्बरले बृद्धि भएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईका अनुसार यस वर्ष पौष मसान्तसम्ममा १७ प्रतिशतभन्दा माथि बीमाको पहुँच पुगेको छ । असार मसान्तसम्म १४ प्रतिशतमा रहेको बीमाको पहुँच दिनानुदिन बढ्दो क्रममा रहेको छ ।
अध्यक्ष चापागाईले भने, अघिल्लो आर्थिक वर्षमा ७ प्रतिशतमा रहेको बीमाको पहुँच गत असारसम्म १४ प्रतिशतसम्म विस्तार भएको तथ्याङ्क अहिलेसम्म आउँदा १६ देखि १७ प्रतिशत पुगिसकेको छ ।’ चापागाईले बीमाको कारोबार दिनानु दिन बढ्दो क्रममा रहेको बताए । बीमाको पहुँच विस्तारसँगै बजारमा अस्वास्थ्य प्रतिस्पर्धा हुनसक्नेतर्फ समिति सचेत रहेको समेत अध्यक्ष चापागाइले बताए । अध्यक्ष चापागाइले बीमा क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन समेत भइरहेको बताए ।
समितिका अनुसार आव २०७४÷७५ मा बीमा कम्पनीहरुले ४३ लाख ४३ हजार ५३५ बीमालेख जारी गरेका छन् । त्यस्तै, आव २०७३÷७४ मा ३३ लाख ८९ हजार ७८६ र आव २०७२र७३ मा ३० लाख ८७ हजार ३८५ बीमालेख जारी भएको तथ्यांकमा उल्लेख छ । यदि बैदेशिक रोजगार बीमालाई पनि समावेश गर्ने हो भने बीमाको पहुँच करिब २० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यसअघि बीमा क्षेत्रमा नयाँ कम्पनीहरुलाई निरुत्साहित गरिएको भएपनि बीमा समितिको अध्यक्ष नियुक्त भएपछि चिरञ्जीवी चापागाईले नयाँ कम्पनीहरुलाई सञ्चालन अनुमति दिएका थिए । फलस्वरुप नेपालमा नयाँ १३ वटा कम्पनी थपिए । जीवन बीमा कम्पनीको संख्या ठ्याक्कै दोब्बर हुन पगेको छ ।