बीमा न्यूज/ काठमाडौं ।
दुई तीन दिनदेखि लगातार परिरहेको पानीपछि शनिबार काठमाडौं उपत्यका चारैतिर पहाडमा हिऊ परेको छ । शनिवार विहानै काठमाडौंको चन्द्रगिरी, शिवपुरी, ललितपुरको पुल्चोकी लगायतका पहाडमा हिऊ परेको छ ।
ललितपुरको कालेश्वरमा समेत हिऊ परेको स्थानीयबासीले बताएका छन् । त्यस्तै ललितपुरको तिनपाने भन्ज्याङ आसपासका डाँडामा समेत हिऊ देखिएको ललितपुर चापागाऊका सुजन घिमिरेले बताए ।
पुल्चोकीमा कम्तीमा तीन फिट हिऊ परेको बताइएको छ । यस पटक हिऊ निकै तलसम्म आएको छ । पुल्चोकीको हिऊ गोदावरीसम्म आईपुगेको एक स्थानीयबासीले बीमा न्यूजलाई बताए । त्यस्तै बुढानिलकण्ठमाथि समेत हिउ परेको छ । शिवपुरी पहाडको फेदमा बस्तीसम्म हिऊ आईपुगेको स्थानीय सानुकाजी श्रेष्ठले बताए ।
त्यस्तै काठमाडौंको चन्द्रगिरीमा भारी हिमपात भएको छ । त्यहाँ करिब चार फिट हिऊ जमेको अनुमान गरिएको छ । स्थानीय सरु खत्रीका अनुसार चन्द्रगिरीको फेदसम्म हिऊ परेको छ ।
काठमाडौंको चारैतिर हिमपात भएपछि शनिबारको छुट्टीमा बसेकाहरु हिऊसँग रमाउन त्यसतर्फ भिड बढ्ने देखिएको छ ।
त्यस्तै काठमाडौंको शिवपुरी, सुन्दरीजलमाथिको डाँडामा समेत हिऊ परेको छ । माघको तेस्रो सातापछि काठमाडौंमा विरलै हिउपात हुने गर्दछ । झण्डै १० वर्ष पहिले भक्तपुर बजार क्षेत्रसम्मै हिउ परेको थियो ।
मुलुकका अन्य पहाडी तथा हिमाली क्षेत्रमा समेत भारी हिमपात भएको छ । हिमपातसँगै बीमा क्षेत्रमा समेत जोखिम बढेको छ ।