पोखरा ।
नेपाल सरकारले केही वर्षअघि देखि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको पाइएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले बीमा कार्यक्रममार्फत जनताको स्वास्थ्य क्षेत्रमा पहुँच बढेको तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी बन्दै गएको बताउनु भएको छ ।
सङ्घीय प्रेस फोरमले शनि पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ विस्तार गर्दै सम्पूर्ण नेपालीमा सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा पु¥याउन सरकारले काम गरिरहेको बताउनुभयो ।
आम जनताले स्वास्थ्य बीमा गरेर उपचार सुविधा लिने संस्कारको रुपमा विकास हुँदै गएकाले स्वास्थ्य बीमा प्रभावकारी बन्दै भएको प्रष्ट पार्नुभयो ।
स्वास्थ्य सुविधा प्रभावकारी बनाउन देशमा कम्तीमा २१ हजार चिकित्सकको आवश्यकता रहे पनि हाल एक हजार ४०० जनाबाट सेवा लिनुपर्ने बाध्यता रहेको मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयोे, “हामीकहाँ डाक्टर, अस्पताल र उपकरण अत्यन्त न्यून छन्, एकैपटक आवश्यकता पूरा गर्न सकिदैन, क्रमशः सामथ्र्य बढाउँदै लैजाने योजना सरकारको छ ।” सङ्घीय समाजवादी फोरमका अध्यक्षसमेत रहनुभएका मन्त्री यादवले राष्ट्रिय जनता पार्टीसँग पार्टी एकताका लागि ढोका खुला भएको र एकतापछि सरकारमा रहने नरहने भन्नेबारेमा एकीकृत पार्टीले निर्णय गर्ने बताउनुभयो ।