काठमाडौं ।
सरकारले चालु आर्थिक बर्षको बजेटमा व्यवस्था गरेको बिना धितो कर्जा सुविधा अन्तर्गत युवाहरुले कर्जा लिएर भटाभट स्वरोजगार हुन थालेको एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् । अझ बीमा कम्पनीहरुले परियोजना समेत बीमा गरिदिँदा ऋण प्रवाह झनै सजिलो भएको बैंकरहरुको भनाई छ ।
राष्ट्रिय युवा परिषद्ले मंगलबार भक्तपुरमा आयोजना गरेको ‘युवा उद्यमी र सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा युवालाई प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाउने सम्बन्धमा छलफल भएको छ । कायृक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले युवा उद्यमीलाई आफूहरुले सरल रुपमा कर्जा प्रदान गरिरहेको बताउनुभयो ।
‘‘सरकारको बेरोजगार युवालाई स्वरोजगार बनाउने अभियानलाई सफल पार्नका लागि हामी प्रतिबद्ध रहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘युवा उद्यमीले प्रक्रिया पूरा गरेर कर्जा माग गरे हामी सरल तरिकाले कर्जा प्रवाह गर्दछौँ ।’’ श्रेष्ठका अनुसार परियोजना बीमा गर्ने अभ्यासले ऋण दिन बैंकहरुलाई समस्या छैन । तर, परियोजना अनुसारको शिप भने ऋणीमा हुनुपर्ने उहाँले प्रष्ट पार्नुभयो । श्रेष्ठका अनुसार राष्ट्रिय बाणिज्य बैंकले २१७ शाखाबाट सरकारले ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि–२०७५’ अनुसार युवा उद्यमीलाई कर्जा प्रवाह गरिरहेको छ ।
उहाँले धेरैजसो युवाले परियोजना प्रस्ताव ल्याउदा आफ्नो सीपभन्दा बाहिरको ल्याउने भएकाले त्यस्तालाई ऋण प्रवाह गर्न नसकिएको बताउनुभयो । उहाँले युवालाई आफ्नो सीप र तालीम भएका परियोजना ल्याउनसमेत आग्रह गर्नुभयो ।
उहाँले सरकारले कर्जा सुरक्षण र परियोजनाको बीमा गरेकोले आफूहरुलाई युवा उद्यमीलाई कर्जा प्रवाह गर्नका लागि समस्या नभएको बताउनुभयो ।
सरकारले गत कार्तिक २० गते नयाँ कार्यविधिअनुसार कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमी कर्जा, दलिय युवा कर्जा, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जालगायत सात प्रकारका कर्जा विना धितो प्रवाह गर्न राष्ट्र बैंकमार्फत ‘क’ बर्गका बैंकलाई पत्राचार गरेको थियो ।
कार्यक्रममा एनएमबी बंैकका अध्यक्ष पवन गोन्यालले राष्ट्र बंैकको निर्देशनलाई पालना गर्दै आफूहरुले युवालाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले कृषि क्षेत्र आफ्नो बंैकको प्राथमिकतामा रहेको उल्लेख गदै युवालाई स्वरोजगार बनाउनका लागि आफूहरुले सहज ढङ्गले ऋण प्रवाह गर्ने जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्था(नेस्कफुन)का वरिष्ठ उपाध्यक्ष परितोष न्यौपानेले आफ्नो संस्थाले विगतदेखि नै युवालाई उद्यमशिलतासंग जोड्दै ऋण प्रवाह गरिरहेको बताउनुभयो ।
कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सहुलियत दरमा कर्जा प्रवाहले मुलुकमा नै युवालाई स्वरोजगार बनाइने बताउनुभयो । उहाँले सहुलियत दरमा कर्जा प्रवाहबाट पाँच लाख बेरोजगार युवालाई रोजगार बनाइने बताउनुभयो । उहाँले युवाको माध्यमबाट नै मुलुकको रुपान्तरण गर्न सकिने भन्दै युवालाई नै स्वदेशमा स्वरोजगार बनाउनका लागि सहुलियत दरमा कर्जा प्रवाहमा सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।