काठमाडौं ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाईले बीमा समिति स्वायत्त नभएको गुनासो गरेका छन् । अध्यक्ष चापागाईले बीमा समिति स्वायत्त भएको अवस्थामा मात्रै बीमा क्षेत्रमा प्रभावकारी नियमन र व्यवस्थापन गर्न सकिने बताए ।
बीमा समितिद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष्य चिरञ्जीवि चापागाईले बीमा कम्पनीहरुको लाईसेन्स वितरणमा बीमा समितिको स्वीकृतिले मात्र सम्भव नरहेको भन्दै सरकारको समेत भूमिका हुने गरेको बताएका छन् ।
कार्यक्रममा अध्यक्ष चापागाईले भने, ‘बास्तवमा बीमा समिति स्वायत्त छैन । कर्मचारी व्यवस्थापनदेखि बीमा कम्पनीलाई लाईसेन्स दिनेसम्मको निर्णय गर्दा अर्थमन्त्रालयको स्वीकृति आवश्यक छ ।’
बीमा ऐन २०४९ ले बीमा समितिलाई स्वायत्त नबनाएको र नयाँ विधेयकमा बीमा क्षेत्रको नियामकलाई स्वायत्त बनाउने प्रयास भएको तर विधेयक पास हुन ढिला भएको अध्यक्ष चापागाईले बताए ।
दुई दिने अन्तक्रिया कार्यक्रममा बीमा समितिका सञ्चालक कपिलदेव ओली, कामु कार्यकारी अधिकृत राजुरमण पौडेल, बीमा विज्ञ भोजराज शर्माको सहभागिता रहेको थियो । कार्यक्रममा नाफिजमा आबद्ध पत्रकारहरु मात्रै सहभागी थिए ।