बीमा न्यूज/काठमाडौं ।
जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ । यसअघि जीवन बीमा कम्पनीहरुले बीमा अवधी समाप्त भएपश्चात मात्रै भुक्तानी गर्ने बीमा रकम अब निश्चित प्रतिशत बार्षिक रुपमा खर्चको रुपमा बीमकले प्राप्त गर्नेछन् भने अवधी पश्चात पुरै भुक्तानी पाउनेछन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ नामको योजनामा यस्तो सुविधा रहेको सो बीमा कम्पनीले जनाएको छ । कम्पनीले आइतबारदेखि नै लागू हुने गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ उक्त सार्वजनिक गरेको हो ।
सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो योजनामा प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुने जानकारी दिए ।
कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ ।
यो बीमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उमेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ ।
यसमा दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ । बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ ।