किन गर्ने महिलाले बीमा ?
एजेन्सि, काठमाडौँ/ बद्लिदो विश्व परिवेशमा मानिसहरु आफुलाई अब्बल सावित गर्ने होडमा लागि परेका छन् । यो प्रभावबाट महिलाहरु पनि मुक्त छैनन् । प्रविधीको उच्चतम प्रयोग र सफलताको शिखर चुम्ने चाहानाले मानिसलाई अनियन्त्रित बनाउँदै लगेको छ । यस्तो अवस्थामा मानविय जीवनमा अप्रत्याशित रुपमा विभिन्न प्रकारका जोखिमहरु आउने गर्छन् । यस्ता जोखिमबाट बच्न र जोखिमको सामना गर्ने एक उत्कृष्ट हतियार जीवन बीमा हुन्छ । अझ महिलाहरुको हकमा यस्ता जोखिमहरु धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । यस लेखमा हामी तपाई बिबाहित, अबिबाहित, बेरोजगार या रोजगार जे भए पनि महिलाले बीमा गर्नु पर्ने ५ कारण बताउने छौ ।
१. कामकाजी महिला
पछिल्लो समय शहरी क्षेत्रमा बढिरहेको महंगी र बजारीकरणले गर्दा परिवारका दुवै सदस्य(श्रीमान,श्रीमती)ले काम गर्ने गरेको पाइन्छ । यदि तपाई र तपाईको श्रीमान दुवैजना जागिर गरिरहनुभएको छ भने । तपाई मध्ये कसै एकलाई केही भईहालेमा अर्कोमाथि आर्थिक बोझ बढ्न जान्छ । धेरैजसो पुरुषले मात्रै बीमा गर्ने गरेका हुन्छन् तर परिवारको आर्थिक संरचना निर्माणमा महिलाको पनि त्यतिकै भूमिका हुने हुनाले, आफ्नो परिवार र सन्तानमाथिको आर्थिक बोझ कम गर्न पनि तपाईले बीमा गर्नुपर्ने हुन्छ । यति मात्रै होइन् यदी तपाई आफ्नै निजी व्यवसाय चलाउने वा कुनै महत्वपुर्ण पदमा कार्यरत महिलामा पर्नुहुन्छ भने पनि तपाईले जीवन बीमा गराउनै पर्ने हुन्छ । किनकी तपाईको आम्दानीले परिवारको आर्थिक भारको धेरै हिस्सा ओगटेको हुन्छ ।
२.एकल महिला
महिलाहरुलाई आर्थिक रुपमा पुरुषहरुमा निर्भर रहन्छन् भनिन्छ । तर पछिल्ला दिनहरुमा नेपाली महिलाहरु पनि आत्मनिर्भरताको बाटोमा निकै अगाडी पुगिसकेका छन् । अझ कतिपय महिलाहरुले त सम्पुर्ण परिवारको नै आर्थिक भार सम्हालेका छन् । यदि तपाई यस्तै महिला मध्ये हुनुहुन्छ भने तपाईले बीमा गर्नै पर्ने हुन्छ । जीवन बीमाको रकम तपाईको दिर्घकालिन पुँजी पनि बन्न जान्छ भने अर्कातिर आवश्यक परेका बखत बीमा रकमलाई ऋणको रुपमा उपयोग पनि गर्न सकिन्छ । यति मात्रै होइन यसले तपाईमाथी आर्थिक रुपमा निर्भर रहेका सदस्यहरुलाई पनि फाइदा पुग्छ ।
३.गृहणी
घर चलाउनु पनि एक पुर्णकालिन पेसा हो । नेपालमा धेरैजसो महिलाहरु गृहणीको रुपमा रहेका छन् । यदि तपाईको परिवारमा पनि कोही गृहणी छिन् भने उनको बीमा अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । यदि गृहणीको असामयीक निधन भएमा वा कुनै प्रकारको दुर्घटना घटेमा परिवारका आम्दानी गर्ने सदस्यमाथि घर चलाउने थप भार पर्न जान्छ र यसले तपाईको आम्दानी घटाउन सक्छ । तर खर्चमा भने बृद्धि हुन्छ । त्यसकारण बेलैमा आफ्नो परिवारलाई आर्थिक बोझबाट जोगाउनको लागि गृहणीको बीमा गर्नै पर्ने हुन्छ ।
४.रिटार्यड जीवनका लागि
धेरैजसो मानिसहरुले आफ्नो रिटार्यड जीवनको सुखद कल्पना गरेका हुन्छन् । तर त्यो रिटार्यड जीवन आािर्थक अभावमै बित्ने गरेको पाईन्छ । मुलत ः महिलाहरुले जीवनभरको आम्दानी परिवारको लागि खर्च गरिसकेका हुन्छन् र अन्तमा रिटार्यड जीवनमा उनिहरु परिवारका अन्य सदस्य माथि आर्थिक बोझ बन्न जान्छन् । यदि तपाईले जीवन बीमा गराउनु भएको छ भने तपाईको रिटार्यड जीवन सुखद र सहज हुन जान्छ । अर्कातर्फ तपार्ई परिवारका सदस्यका लागि आर्थिक बोझ पनि बन्नु हुन्न ।
५.सपना साकार पार्न
मानिसको जीवनमा हरेक प्रकारका सपनाहरु हुन्छन् । तर कतिपय अवस्थामा ति सपनाहरु आर्थिक अभावकै कारण पुरा नहुने परिस्थीती आउँछ । जीवनमा यस्तो परिस्थीती नआओस भन्नका लागि बीमा गर्ने पर्ने हुन्छ । सामान्यतया: सन्तानहरुको उच्च शिक्षा, राम्रो पालन पोषणमा पनि बीमाले तपाईलाई सहयोग गर्न सक्छ । अझ तपाईको मृत्यु पछि पनि तपाईका परिवार र सन्तानलाई आर्थिक रुपमा सहयोग भइरहोस भन्ने चाहाना तपाईको छ भने बीमा नै एक उत्कृष्ट उपाय हो तपाईका सपना साकार पार्नको लागि ।