बीमा न्युज,
काठमाडौँ/ हाम्रो देश पुरुष प्रधान हो । अधिकांश घरको मुली पुरुष नै हुन्छन् । त्यसैले घर परिवारको कुनै पनि निर्णय लिनु पर्दा पुरुषले नै लिने गर्दछन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा महिला परिवार मुलीको परिवारहरु जम्मा २५.७३ प्रतिशत मात्रै रहेका छन् । त्यस्तै, जनगणनाका अनुसार ५ बर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २ करोड ३९ लाख २६ हजार ५४१ जनसंख्यामा ६५.९ प्रतिशत व्यक्तिहरु साक्षर रहेको देखिएको छ । यो उमेर समूहका कुल पुरुषको ७५.१ प्रतिशत र महिलाको ५७.४ प्रतिशत साक्षर रहेका छन् । अर्थात् पुरुषहरु बढी साक्षर छन् । त्यसैले पनि बिषेश गरी वित्तिय कारोबार पुरुषले निर्णय लिन्छन् ।
शहरी क्षेत्रमा त महिलाहरु पनि धेरै अगाडी बढी सके । तर, ग्रामिण क्षेत्रमा अझै पनि पुरुषको हाली मुहाली छ । सुचनामा पनि पुरुषहरुकै पहुँच हुन्छ । किनभने घरभित्रै काममा व्यस्त हुन्छन् । यद्यपी नेपाल राष्ट्र बैंकले गरको एक अध्ययनले बीमामा पुरुषहरु महिला भन्दा पछाडी रहेको पाईएको छ । बैंकले “विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृति” सम्बन्धी गरेको अध्ययनले महिला घरमुली भएको परिवारमध्ये ३२.७ प्रतिशतले विमा गरेको देखाएको छ । त्यस्तै, पुरुष घरमुली भएको परिवारमा जम्मा २६.१ प्रतिशतले मात्रै बीमा गरेका छन् ।
बीमा भनेको सुरक्षा हो । भविष्यमा आईपर्ने आर्थिक जोखिमको पूर्व आंकलन सुरक्षित हुने उपकरण नै बीमा हो । अधिकांश महिलाहरु कुनै पनि जोखिम लिएर बस्न रुचाउँदैनन् । उनीहरु बर्तमान भन्दा पनि भविष्यको बारेमा बढी सोच्दछन् । त्यसैले पुरुषले भन्दा महिलाहरुले बीमा योजना खरिद गर्ने गरेकोे पेशागत बीमा अभिकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष नन्द प्रसाद तिवारीले बताए । “पुरुषहरु जोखिम लिएर बस्न सक्छन् । तर, महिलाहरु लिन चाहदैनन्,” उनले भने ।
शहर केन्द्रित बीमा कम्पनी
त्यस्तै, अध्ययनले बीमा बढी शहरी क्षेत्रमा केन्द्रित भएको देखाएको छ । क्षेत्रगत रूपमा रुपमा हेर्दा सहर तथा सहरोन्मुख क्षेत्रमा ३०.९ प्रतिशतले बीमा गरेको पाईएको छ । तर, ग्रामीण क्षेत्रमा २८.३ प्रतिशतले बीमा गरेका छन् । त्यसैगरी, घरमुलीको शिक्षाको स्तर अनुरूप हेर्दा शिक्षित घरमुली रहेकोमा ३३.३ प्रतिशतले बीमा गरेका छन् भने अशिक्षित घरमुली रहेकोमा १२.९ प्रतिशतले बीमा गरेका छन् । यसले कम्पनीहरु बढी शहर मुखी भएको स्पष्ट पार्छ । त्यस्तै, शिक्षाको अभावका कारण पनि मानिस बीमा प्रति आकर्षित हुन नसकेको पनि अध्ययनले देखाएको छ ।