बीमा न्युज,
काठमाडौँ/सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले बजेट घटाएको छ । स्वास्थ्य बीमाका लागि भन्दै सरकारले चालु आर्थिक बर्षमा २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो रकम अघिल्लो बर्षको तुलनामा ५० करोडले कम हो ।
गत आर्थिक बर्ष २०७३÷७४ का लागि सरकारले २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, उक्त रकममध्ये अनुमानित ४० करोड रुपैयाँ मात्र खर्च हुन सक्ने समितिका लेखा प्रमुख सालिकराम पराजुलीले बताए । “विनियोजित रकममध्ये खर्च कम भएकाले पनि यस आर्थिक बर्षका लागि सरकारले घटाएको हुन सक्छ,” उनले भने । स्वास्थ्य मन्त्रालयले भने २ अर्ब भन्दा बढी रकम प्रस्ताव गरेको थियो ।
स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्न सरकारले पहिलो आव २०७१÷७२ का लागि ५० करोड रुपयाँ विनियोजन गरेको थियो । तर, उक्त आवमा पनि जम्मा ७१ लाख रुपैयाँ मात्रै खर्च भएको थियो । त्यस्तै, आव २०७२÷७३ को लागि विनियोजन गरिएको ५० करोडमध्ये ३ करोड ३८ लाख खर्च भएको थियो ।
सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि भौतिक पूर्वाधारहरु तयार नभै सकेकोले रकम खर्च गर्न नसकिएको समितिका सिअहेव अधिकृत जनक अधिकारीले बताए । “यो बर्ष भने निर्वाचनका कारण धेरै काम रोकिए,” उनले भने ।
सबै नागरिकमा स्वास्थ्य पहुँच पु¥याउन सरकारले २०६९÷७० को बजेटमा नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । तर, उक्त बर्ष भने यस कार्यक्रमले गति लिन सकेन । त्यस्तै, आव २०७०÷७१ बजेट पनि सरकारले यो कार्यक्रमलाई पुन ः दोहोराएको थियो । तर, उक्त आवमा स्वास्थ बीमा नीति तयार पार्ने काम मात्रै भयो । आव २०७१÷७२ को बजेटमा सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई १५ जिल्लामा विस्तार गर्ने बताएको थियो । उक्त आवमा सो कार्यले पनि गति लिन सकेन । आव २०७२÷७३ मा सरकारले पुन ः स्वास्थ्य बीमा कार्यक्रमलाई नमूनाका लागि कैलाली, बाग्लुङ्ग र इलाम जिल्लामा सञ्चालन गरिने प्रतिबद्धता जनाएको थियो । उक्त आवमा भने यसले पूर्णता पायो । गत आर्थिक बर्षको अन्त सम्ममा स्वास्थ्य बीमा कार्यक्रम २५ जिल्लामा लागु गरिसक्ने बताय पनि १५ जिल्लामा मात्रै बिमा संञ्चालन भएको छ । सरकारले आगामी तीन बर्ष भित्र नेपाल भर बीमा कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
विगत पाँच बर्ष पहिले सरकारले परिकल्पना गरेको स्वास्थ्य बीमा कार्यक्रम भने २०७२ सालको चैत्र देखि मात्रै सुरु भएको हो । सामाजिक स्वास्थ्य सुरक्षा विकास मिति गठन आदेश २०७१ स्वीकृति भए पछि यसलाई छुट्टै समितिको रुपमा स्थापना गरिएको हो । तत्पश्चात मात्रै बिमा कार्यक्रमले तिव्रता पाएको हो ।