बीमा न्युज,
काठ्माडौ । बीमा कम्पनीहरु लगानीका लागि उपयुक्त क्षेत्रको खोजीमा रहेका छन् । बीमा ऐन अनुसार बीमा कम्पनीहरुले लगानी योग्य रकमलाई बीमा समितिले तोकेका क्षेत्रहरुमा लगानी गर्न पाउने व्यवस्था रहेको छ । जीवन बीमा कम्पनीको लगानी निर्देशिका अनुसार कम्पनीहरुले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्रमा कुल लगानीको २५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । बाणिज्य बैंकको मुद्धती निक्षेपमा ३५ र विकास बैंकको मुद्धतीमा १५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजनामा भने ५ प्रतिशत कम्पनीहरुले लगानी गर्न पाउँछन् ।
त्यस्तै विमकहरुले बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा, वित्त कम्पनीको मुद्धती निक्षेपमा र पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १०÷१० प्रतिशत लगानी गर्न पाउँछन् भने उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रमा ५ प्रतिशत र इन्भेष्टमेण्ट कम्पनीको शेयरमा २ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।
समितिले लगानीका लागि विभिन्न क्षेत्रहरु तोकिदिए पनि जीवन बीमा कम्पनीहरु भने दीर्घकालीन लगानीको उपयुक्त क्षेत्र नभेटिएको गुनासो गर्दै आएका छन् । जीवन बिमा कम्पनीहरुले व्योहोर्नु पर्ने दायित्व अवधि लामो हुने तर, लगानीका क्षेत्रहरु छोटो अवधिको हुने हुँदा कम्पनीहरुले उच्च प्रतिफल प्राप्त गर्न नसकेको गुनासो बीमा कम्पनीहरुको रहेको छ । त्यसैले सरकारले अन्तराष्ट्रिय अभ्यास हेरेर नेपालका जीवन बीमा कम्पनीलाई लगानीका नयाँ नयाँ क्षेत्रहरु छुट्टाउनु पर्ने धारणा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाको रहेको छ । उहाँका अनुसार जीवन बीमा कम्पनीहरुलाई कर्पोरेट, हाउजिङ्ग, रियल स्टेट, रिटेल लगायतका क्षेत्रमा लगानी गर्न दिनु पर्छ । “बरु यसमा समितिले निश्चित प्रतिशत तोक्न सक्छ,” उहाँले भन्नु भयो ।
जीवन बीमा कम्पनीहरुको विगत पाँच बर्षको लगानी विवरण
बीमा कम्पनीहरुले लगानिको सुरक्षित माध्यम खोजिरहँदा उता बीमा कम्पनीको लगानीमा भने बृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ ।
बीमा समितिका अनुसार विगत पाँच बर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको लगानी दुई गुणा भन्दा धेरैले बृद्धि भएको छ । समितिको तथ्यांक अनुसार आव आव २०६९÷७० मा ६४ अर्ब ३४ करोड लगानी गरेका थिए । त्यस्तै आव २०७०÷७१ मा ७९ अर्ब १२ करोड रुपैँया लगानी गरेका थिए । भने आव २०७१÷७२ मा कम्पनीहरुले ९३ अर्ब ८८ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरीसकेका छन् । आर्थिक बर्ष २०७२÷७३ सम्म आईपुग्दा जीवन बीमा कम्पनीहरुको लगानी १ खर्ब १८ अर्ब पुगिसकेको छ । जब की आव २०६८÷६९ मा भने कम्पनीहरुले ५४ अर्ब ५० करोड रुपैयाँ मात्रै लगानी गरेका थिए ।
पाँच बर्षको अवधिमा नेपाल लाईफ, एशियन लाईफ, सूर्या लाईफ, गुराँश लाईफ र प्राईम लाईफको लगानीमा ३ गुणा भन्दा धेरै बृद्धि भएको छ । उता राष्ट्रिय बीमा संस्थानको लगानी भने गएका ५ बर्षमा १९ प्रतिशतले घटेको छ । त्यस्तै, मेट लाईफको लगानी करिब दुई गुणाले बढेको छ भने लाईफ इन्स्योेन्स कर्पोरेशनको करिब तीन गुणाले बढेको छ भने नेशनल लाईफ इन्स्योरेन्सको दुई गुणा भन्दा धेरैले बढेको छ ।
जीवन बीमा कम्पनीको लगानी विवरण