Nepal Life Insurance

पुल प्रणाली मार्फत संञ्चालन हुदैँ लघुबिमा

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार ०९:४३

सागर चन्द

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बन्यो पूल म्यानेजर

 बीमा न्युज,
साउन-१७,काठमाडौँ/ निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा जारी गर्न नयाँ तरिका अपनाउने भएका छन् । सरकारले अनिवार्य गरेको लघु बीमा कार्यक्रमलाई बीमा कम्पनीले पूल प्रणाली मार्फत जारि गर्ने भएका छन् । कम्पनीहरुले चालु आव देखि नै पूल प्रणाली मार्फत लघुबीमा जारी गर्ने योजना बनाएका छन् । यसका लागि विमक संघले आन्तरिक तयारी समेत थालिसकेको छ ।


चालु आर्थिक बर्षको बजेटमा सरकारले निर्जीवन बीमा कम्पनीहरुलाई आफनो व्यवसायको ५ प्रतिशत अनिवार्य रुपमा लघुबीमा जारी गर्न निर्देशन दिएको थियो । तर, यस्तो खालको बीमा जारी गर्दा सञ्चालन खर्च बढी हुने भएपछि कम्पनीहरु निरुत्साहित भएका थिए ।
न्यून आर्थिक आम्दानी रहेका जनतामा समेत बीमाको पहुँच पुगोस भनेर सरकारले लघुबीमाको योजना अघि सारेको हो । लघु बीमाको बीमांक रकम थोरै हुने र कम्पनीहरुलाई लक्षित बर्गसम्म पुग्न पनि सहज नहुने भएकाले कम्पनीहरुले सामूहिक रुपमा पुल प्रणाली निर्माण गर्ने निष्कर्षमा पुगेका हुन् । लघुबिमा नाफाको व्यवसाय हैन । त्यसैले लघुबिमा जारी गर्दा कुनै पनि एक कम्पनीलाई भार नपरोस भनी पूलको अवधारणा ल्याईएको बीमकहरुले बताएका छन् ।

 

पूल प्रणाली सञ्चालन प्रक्रिया
लघुबीमाका लक्षित बर्ग भनेको न्युन आम्दानी हुने मानिस हुन् । न्युन आम्दानी भएका सबै नागरिक सम्म पुग्न बीमा कम्पनीले अत्याधिक स्रोत र साधनको प्रयोग गर्नु पर्ने हुँदा बढि खर्चिलो बन्न जान्छ । त्यसैले कम्पनीहरुले पूल प्रणालीको अवधारणा अघि सारेका हुन् । यस अवधारणा अनुसार एउटा कम्पनीलाई पूल प्रणालीको म्यानेजर तोकिन्छ । जसले लघुबिमा जारी गर्ने र दाबी भुक्तानी गर्ने काम गर्छ । बर्षको अन्त्यमा प्राप्त बिमाशुल्क र दाबी भुक्तानी समान रुपमा सबै कम्पनीलाई वितरण गरिन्छ ।
सोही अनुरुप हाल कम्पनीहरुले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई पूल म्यानेजर तोकेका छन् । पूल निर्माणका लागि कम्पनीहरुले ८ करोड ५० लाख संकलन गर्ने भएका छन् । जसमध्ये आधा रकम सक्षमले सहयोग गर्नेछ भने बाँकी कम्पनीहरुले व्यहोर्ने नेपाल विमक संघका कार्यवाहक अध्यक्ष एवम् शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बताउँछन् ।

लघुवित्तले पनि जारी गर्नेछन् बिमा
यस संगै लघुवित्त बैंकहरुले पनि लघुबीमा जारी गर्नेछन् । ग्रामिण क्षेत्रमा लघुवित्त बैंकहरुको पहुँच राम्रो भएकाले कम्पनीहरुले लघुबित्त मार्फत बीमा जारी गर्ने निर्णय गरेका हुन् । जस अनुसार गत असोजमा बीमा समितिको नेतृत्व र संक्षमको संयोकत्वमा नेपाल विमक संघ र नेपाल लघुवित्त बैंकर्स संघ बिच सम्झौता भै सकेको छ ।

चालु आर्थिक बर्षमा लघुवित्तहरुले नै बीमा जारी तयारी भै रहेको छ । यसका लागि विमक संघले वित्त कम्पनीहरुलाई आवश्यक तालिमहरु प्रदान गर्नेछन् । पूल कम्पनीको सहकार्यमा लघुवित्तहरुले बीमालेख जारी गर्ने र दाबी भुक्तानी समेत गर्नेछन् । जसबापत लघुवित्तले १५ प्रतिशत कमिशन र १० प्रतिशत व्यवस्थापन खर्च पाउने छन् । यसको सुरुवात लघुवित्त सदस्यहरुबाट हुनेछ ।

नेपालमा सञ्चालित पूल प्रणाली
लघुबीमाका लागि कम्पनीहरुले अपनाएको पूलको अवधारणा नेपालको लागि नयाँ भने हैन । यस अघि पनि बिमा कम्पनीहरुले आकस्मिक बीमामा पूल मार्फत नै जारी गरेका थिए । तत्कालिन समयमा सरकारको सहभागितामा पूल निर्माण गरीे आकस्मिक बीमा जारी गरिएको थियो । यसको लागी सरकारले ५ करोड र कम्पनीहरुले ५ करोड लगानी गरेका थिए । सरकारको सहभागितामा सञ्चालन गरिएको यो पूल सफल भएको मानिन्छ । त्यस्तै, युवा तथा स्वरोजगार बीमा पनि कम्पनीहरुले पूल मार्फत नै जारी गरी रहेका छन् । यसका लागि राष्ट्रिय बीमा कम्पनीलाई पूल म्यानेजर तोकिएको छ । तर, युवा तथा स्वरोजगार बीमाको हकमा भने पुल प्रणाली त्यति सन्तोषजनक नरहेको बीमकहरुको अनुभव रहेको छ ।

लघुबीमा कम्पनीको परिकल्पना

लघुबीमा जारी गर्न लागि यस अघि कम्पनीहरुले छुट्टै लघुबीमा कम्पनी स्थापना गर्ने योजना समेत बनाएका थिए । नेपाल पुर्नबीमा कम्पनीको नेतृत्वमा सबै कम्पनीहरुको स्वामित्व रहने गरी ५० करोड चुक्ता पूँजीमा कम्पनी स्थापना गर्न समितिमा प्रस्ताव समेत गरिएको थियो । तर, एउटै कम्पनीले जीवन तथा निर्जीवन बीमा जारी गर्न नपाउने कानुनी अड्चन लगायतका कारण यसले मूर्त रुप भने पाउन सकेन ।

लघुबीमा योजनाहरु
बीमा समितिले यस अघि नै  ५ ओटा लघुबिमा योजना सार्वजनिक गरिसकेको छ । जसमध्ये दुई ओटा जीवन बीमा र तीन ओटा निर्जीबन बीमा योजना सञ्चालनमा ल्याएको छ । लघु निर्जीवन बीमा अन्र्तगत स्वास्थ्य लघु बिमालेख, गार्हस्थ लघु बीमालेख र व्यक्तिगत दुर्घटना बीमालेख सञ्चालनमा ल्याएको छ भने लघु जीवन बीमा अन्तर्गत सावधिक लघु जीवन बीमालेख र म्यादी लघु बीमालेख सञ्चालनमा ल्याएको छ । साथै पछिल्लो समय समितिले थप दुई वटा बिमालेख समेत जारी गरिसकेको छ ।
जसमध्ये पशुपन्छी र बाली लघुबीमा रहेका छन् । त्यस्तै, हालै बीमक संघले समितिमा ७ वटा बीमालेख प्रस्ताव गरेको छ । ति सात वटै निर्जीवन बीमालेख हुन् । सोमध्ये समितिले जारी गरेभन्दा दुई मात्रै फरक बीमालेख छन् । लघु व्यवसाय र गम्भिर रोग बीमालेख संघले प्रस्ताव गरेकोमध्ये नयाँ बिमालेख हुन् । जसलाई समितिले पारित गरिसकेको छ ।
समितिले जारी गरेका लघुबीमाको विमांक रकम न्यून रहेको छ । त्यस्तै, बीमाशुल्क पनि थोरै राखिएको छ । हरेक आर्थिक स्तरका नागरिकले यो योजना खरिद गर्न सकुन भनी समितिले बीमाकं रकम र बीमाशुल्क थोरै राखेको बताएको छ ।

लघुबीमा निर्देशिकाले तोकेका बीमा योजना

लघु दुर्घटना बीमा
लघु बीमा निर्देशिका २०७१ का अनुसार न्युनतम १ सय ५० देखि अधिकतम १ लाख ५० हजार रुपैँया सम्ममा लघु दुर्घटना बीमा योजना खरिद गर्न सकिने छ । बीमा गर्न चाहाने व्यत्तिले कूल बीमाकं रकमको शून्य दशमलव १ प्रतिशत बीमा शुल्क भुक्तानी गरेमा बीमा गर्न सकिने व्यवस्था रहेको छ ।
ग्रार्हस्थ लघु बीमा
त्यस्तै अधिकतम २ लाख रुपैयाँ बीमाकं रकम रहेको गार्हस्थ लघु बीमा योजना ५ सय रुपैयाँमा खरिद गर्न सकिने छ । यो रकम बीमाकं रकमको शून्य दशमलव २५ प्रतिशत हो । यस योजनाले बीमितको सम्पतिको जोखिम बहन गर्दछ ।


स्वास्थ्य लघु बीमा योजना
१ हजार ४ सय रुपैँया तिरेर खरिद गर्न सकिने यो बीमा योजनामा परिवारको ५ जना सदस्यले ३५ हजार सम्मको स्वास्थ्य सेवा लिन सक्नेछन् ।

सावधिक लघु जीवन बीमाको र म्यादी लघुबीमा
१ लाख ५० हजार रुपैयाँ सम्मको बीमाकं रकम रहेका यी दुवै बीमा योजनामा उमेर हद अनुसार शुल्क लाग्ने छ ।
अन्य बीमा योजनाहरु
अधिकत्तम १ लाख ५० हजारसम्मको बीमाकं रहेको पशु तथा पन्छी लघुबीमा पनि गर्न सकिने छ । यो बीमा योजनाको बीमा शुल्कको ५ प्रतिशत अर्थात ७ हजार ५ सय तिर्नु पर्ने हुन्छ ।
२ हजार ५ सय बीमा शुल्क तिरेर, ५० हजार रुपैयाँ सम्म्को बाली बीमा पनि गर्न सकिने व्यवस्था बीमा समितिले गरेको छ । यो रकम पनि बिमाशुल्क ५ प्रतिशत हो ।
५ सय रुपैयाँ बीमा शुल्क तिरेर, २ लाख रुपैयाँ सम्म्का लघु व्यवसाय बीमा गर्न सकिनेछ । बीमा शूल्क बापत तिर्नुपर्ने रकम कूल बीमाकं रकमको शून्य दशमलव २५ प्रतिशत हो ।
त्यसैगरि गम्भिर रोग बीमा गर्ने व्यवस्था पनि समितिले गरेको छ । ७ सय ५० बीमाशुल्क तिर्नुपर्ने यो बीमा योजनाको अधिकतम बीमाकं रकम १ लाख ५० हजार रुपैयाँ रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....