१० कक्षा पासलाई अभिकर्ता बन्ने अवसर
बीमा न्युज,
साउन-१८,काठमाडौँ/ बीमा कुनै पनि मुलुकको आर्थिक विकास र पहुँचको मापक हो । बीमाकै माध्यमबाट धेरै मानिसले आफ्नो जीवनलाई आर्थिक रुपमा सुरक्षित बनाएका उदाहरण पनि प्रसस्तै छन् । त्यसकारण बीमा आर्थिक सुरक्षाको बलियो र भरपर्दो माध्यम पनि हो । अरु वित्तीय संस्थाहरु जस्तो बीमा कम्पनीहरु सिधै ग्राहक सामु जाने वा ग्राहकलाई संस्थामा डाक्ने गर्दैनन् । बीमा कम्पनीले ग्राहकसम्म पुग्नको लागि बीमा अभिकर्ताको सहायता लिन्छन् । बीमा क्षेत्रमा बीमा अभिकर्तालाई बीमा व्यवसायको लाईफ लाईनको रुपमा पनि लिईन्छ ।
के गर्नु पर्छ बीमा अभिकर्ता बन्नको लागि ?
बीमा अभिकर्ता बन्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उर्तिण गरेको जो कोहीले पनि १ हजार रुपैँया भुक्तानी गरेर अभिकर्ताको तालिम लिन सक्छ । तालिम पश्चात् प्राप्त हुने लाइसेन्सले नेपालका जुनसुकै बीमा कम्पनीमा काम गर्न पाइन्छ । तालिममा बीमा कम्पनीहरुले जारि गर्ने पोलिसीका प्रकार र तिनको प्रिमियम गणना गर्ने विधी सिकाईन्छ । अभिकर्ता पेशा पूर्णकालिन पेसा रुपमा अथवा पार्टटाईमको रुपमा पनि गर्न सकिने पेसा हो ।
स्वतन्त्र रुपमा काम गर्न पाईने यो पेसामा लाग्नेहरुले ग्राहकहरुलाई बीमा र आफुले बेच्न लागेको पोलिसीका बारेमा प्रष्ट तरिकाले बुझाउनु पर्ने हुन्छ । त्यसकारण अभिकर्ता प्रष्ट बक्ता हुनु जरुरी छ । अहिले विभिन्न पेसा र व्यसायमा रहेका मानिसहरु पनि अभिकर्ता बन्न इच्छुक छन् भने कतिपय त अभिकर्ताको काम नै गरिरहेका छन् ।
अभिकर्ताहरुलाई बीमा कम्पनीले उसले बिक्री गरेको पोलिसी र संख्याको आधारमा कमिसन प्रदान गर्ने गर्छन् । अभिकर्ताले पाउने कमिसनको दर बीमा समितिले नै तोक्ने भएकाले सबै बीमा कम्पनीले समान दरमा कमिसन दिन्छन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ । निर्जीवन बीमामा पनि अग्नी बीमा अन्र्तगत १२ प्रतिशत र अन्य बीमामा १५ प्रतिशत कमिसन प्राप्त हुन्छ । अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रक्रार र त्यसको संख्याले निर्धारण गर्छ ।
वि.स २०५८ सालदेखि २०६८ सालसम्मको अवधिमा वार्षिक औसत १ दशमलव ४ प्रतिशतका दरले जनसङ्ख्या बृद्धि हुँदा पनि बीमा गर्ने मानिसको संख्यामा उल्लेख्य बृद्धि नभएकाले पनि सक्रिय बीमा अभिकर्ताको खोजीमा बीमा कम्पनी ।
बीमाको बजार विस्तार गर्न र बीमालेखको संख्या बृद्धि गर्नको बीमाअभिकर्ताको नै पहिलो भुमिका रहन्छ । बीमाअभिकर्ताको व्यवसायलाई दिर्घकालिन व्यवसायको रुपमा लिइने भएकाले पनि अभिकर्ता र ग्राहकबीचको सम्बन्ध राम्रो हुनुपर्छ । अभिकर्ताले बीमा गराउने मात्रै नभई ग्राहकलाई बीमाका फाईदा र यसको महत्व तथा बीमागर्नुपर्ने कारण र ग्राहकको आर्थिक अवस्थाको पनि राम्रो विश्लेषण गर्न सक्नुपर्ने हुन्छ ।
साधारणतया बोलक्कड, मिजासिलो, नम्र र हँसिलो व्यक्तिले अभिकर्ताको कार्य गर्न सक्छन् भन्ने विश्वास गरिन्छ । पछिल्लो समय थपिएका १० वटा नयाँबीमाकम्पनीकालागिपनि अब धेरै अभिकर्ताआवश्यक पर्ने देखिन्छ । बीमा कम्पनीहरुले अभिकर्तालाई आफ्नो पुँजीको रुपमा लिने भएकाले पनि अभिकर्ताको दायीत्व धेरै हुन्छ ।
अभिकर्ताहरुको यसरी व्याख्या गर्छन बीमा कम्पनी
बीमा कम्पनीहरुले अभिकर्तालाई इन्फर्मेसन एजेन्ट, नलेजेबल एजेण्ट तथा इनलाइटेण्ड एजेन्टको रुपमाविश्लेषण गर्ने गर्छन् ।
इन्फर्मेसन एजेन्ट : यस्ता एजेण्टहरु प्रस्तावकको सबै जानकारी राख्ने गर्छन् । प्रस्तावकको शिक्षा, उमेर, आम्दानी, पारिवारिक इतिहास, परिवारको स्वास्थ्य स्थिति, बानीबेहोरा, परिवारमा भएका सदस्यहरू आदि ।
नलेजेबल एजेन्ट : इन्फर्मेसन एजेन्टमा हुने सबै गुण सहित बीमा व्यवसायको राम्रो अध्ययन गरेको हुन्छ । त्यसका साथै उनीहरूले बीमा व्यवसायका धेरै पक्षहरुमा दखल राख्ने गर्छन् । यस्ता अभिकर्ताले प्रत्येक बीमाकम्पनीको बारेमा जानकारी राखेका हुन्छन्, बीमासम्बन्धी समाचार, लेख आदि अध्ययन गर्ने प्रवृतिका अभिकर्तालाई नलेजेबल एजेण्टको सूचिमा राखिन्छ ।
इनलाइटेण्ड एजेण्ट : नलेजेबल एजेन्ट र इन्फर्मेसन एजेन्ट दुवैमा भएका गुणहरु यस्ता एजेण्टमा हुन्छन् । प्रायः लामो समय अभिकर्ताको काम गरेकाहरु एजेण्टहरु यस वर्गमा पर्छन् ।
वि.स २०५८ सालदेखि २०६८ सालसम्मको अवधिमा वार्षिक औसत १ दशमलव ४ प्रतिशतका दरले जनसङ्ख्या बृद्धि हुँदा पनि बीमा गर्ने मानिसको संख्यामा उल्लेख्य बृद्धि नभएकाले पनि सक्रिय बीमा अभिकर्ताको खोजीमा बीमा कम्पनी रहेका छन् । बीमा समितीको तथ्याकं अनुसार सन् २०१६ सम्ममा नेपालमा ९५ हजार बीमा अभिकर्ता रहेका छन् ।