बीमा न्युज,
भदौ २६, काठमाडौं÷सुन्दा अचम्म लाग्न सक्छ । नेपालमा हाल ९ नौ वटा जीवन बीमा कम्पनी छन् । तीन वटा नयाँ जीवन बीमा कम्पनीले व्यवसाय शुरु गरि सकेका छन् भने अन्य ६ वटा सञ्चालनको तयारीमा छन् । तर, अझै पनि नेपालमा नै बस्ने नेपालीले नेपाल बाहिर रहेका बीमा कम्पनीमा जीवन बीमा गराउँदै आएका छन् । नेपालको कानुनले यसलाई बन्देज गरे पनि अनौपचारिक रुपबाट यस्तो बीमा हुँदै आएको छ ।
नेपालको सिमावर्ती क्षेत्रमा रहने नेपालीले भारतमा सञ्चालित बीमा कम्पनीमा गएर बीमा गर्नु सामान्य मान्न सकिन्छ । तर, नेपालको मुख्य शहरहरुबाट नै यस्तो खालको बीमा हुने गरेको नेपाल लाईफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । “विशेष गरी व्यापारीहरुले ठूलो रकमको बीमा नेपाल बाहिर सञ्चालन भएका बीमा कम्पनी बीमा गर्छन्,” उनले भने ।
“क्रश बोर्डर बीमा गर्नु बीमितको लागी हितकारी नुहने बीमकहरुको भनाई”
नेपालमा २०२५ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापना भए पछि जीवन बीमा व्यवसायको शुरुवात भएको हो । त्यस अघि पनि नेपालमा जीवन बीमा व्यवसाय नभएको होईन । तर, त्यति बेला भारतीय कम्पनीहरुले नेपाल जीवन बीमा योजना बिक्री गर्दै आएका थिए । संस्थानको स्थापन भए पछि भने विस्तारै भारतीय कम्पनीहरुको प्रभाव घट्दै गएको हो । यद्यपी केही समय अगाडीसम्म नेपालमा क्रश बोर्डर बीमाको अवस्था विकराल थियो । तर, अहिले यसमा कमी भने आएको छ । तर, निर्मूल भने नभएको बीमकहरु बताउँछन् ।
अधिकांश बीमितहरु क्रश बोर्डर बीमा गर्दा धेरै फाइदा हुने भ्रम पर्ने गरेको सरोकारवालाहरु बताउँछन् । विदेशमा रहेका बीमा कम्पनीमा काम गर्ने नेपाली अभिकर्ताले विभिन्न प्रलोभन देखाएर बीमा गराउने गरेको उनीहरु बताउँछन् । यस्तो बीमा लुकी छिपी हुने भएकाले यस कुनै पनि तथ्यांक नभएको बीमा विज्ञ भोजराज शर्माले बताए । “जहाँसम्म लाग्छ १÷२ प्रतिशत होलान् । यसरी बिमा गर्ने,” उनले भने ।
अभिकर्ताले ठूलो प्रलोभन देखाए यसरी क्रम बोर्डर बीमा गर्नु बीमितको लागी हितकारी नुहने बीमकहरुको भनाई छ । पहिलो कुरा त नेपालका बीमा कम्पनी भन्दा भारतमा नै सञ्चालन भएका बीमा कम्पनीको बोनश दर कम छ । दोस्रो कुरा नेपाली रुपैयाँ भन्दा भारतीय रुपैयाँ बलियो हुनाले बीमाशुल्क बढी भुक्तान गर्नुपर्छ । अझ भारु अभाव हुँदा त थप शुल्क तिरेर नोट साट्नु पर्ने हुन्छ । त्यसैले क्रश बोर्डर बीमा अभिकर्ताको लागि नाफादायी भए पनि बीमितको लागी भने हानिकारक हुन्छ ।