बीमा न्युज,
असोज १, काठमाडौं । गत आर्थिक बर्ष २०७३/७४ निर्जीवन बीमा कम्पनीहरुले साढे १२ लाख मोटर बीमालेख जारी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार गत आवको अन्त्यसम्ममा १७ निर्जीवन बीमा कम्पनीहरुले १२ लाख ५८ हजार ७३७ वटा मोटर बीमालेख जारी गरेका हुन् । यो संख्या कम्पनीहरुले जारी गरेको कुल निर्जीवन बीमालेखको ७२ प्रतिशत हो ।
भौतिक सम्पतिको जोखिम हस्तान्तरण गरिनुलाई नै निर्जीवन बीमा भनिन्छ । निर्जीवन बीमा अन्र्तगत बीमा कम्पनीहरुले विभिन्न खालका योजनाहरु सञ्चालमा ल्याएका छन् । अग्नि, सामुन्द्रिक, मोटर, इन्जिनियरिङ्ग, कृषि लगायतका बीमालेख कम्पनीरुले जारी गर्दै आएका छन् । तर, नेपालको बीमा व्यवसायमा मोटरको बीमाको हिस्सा अधिक रहेको छ ।
मोटर बीमा अन्र्तगतको तेस्रो पक्ष बीमालाई सरकार २०६६ सालमा नै अनिवार्य गरेको हो । त्यस्तै, दोस्रो पक्ष बीमालाई पनि गत आव देखि सरकारले अनिवार्य गरेको छ । फलस्वरुप नेपालमा मोटर बीमाको हिस्सा अधिक रहन गएको हो । त्यस्तै, उक्त अवधिमा मोटर बीमा बापत कम्पनीहरुले ९ अर्ब २७ करोड रुपैयाँ संकलन गर्न सफल भएका छन् भने मोटर बीमा दाबी बापत कम्पनीहरुले ४ अर्ब ९ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।
मोटर बीमालेख पछि कम्पनीहरुले सबैभन्दा धेरै अग्नि बीमालेख जारी गरेका छन् । गत आवमा कम्पनीहरुले २ लाख ६४ हजार ९६६ वटा अग्नि बीमालेख जारी गरेका छन् । यो संख्या कुल बीमालेखको १४ प्रतिशत हो । त्यस्तै, उक्त बीमालेख बापत कम्पनीहरुले ३ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो संख्या कुल बीमाशुल्क आर्जनको २० प्रतिशत हो ।
कम्पनीहरुले जारी गरेको बीमायोजना मध्ये हवाई बीमा योजनाको हिस्सा न्यून रहेको छ । गत आवमा कम्पनीहरुले जम्मा २०४ वटा हवाई बीमालेख जारी गरे । यो संख्या कुल बीमालेखको शून्य दशमलव शून्य १ प्रतिशत हो ।
समितिको तथ्यांक अनुसार गत आवमा निर्जीवन कम्पनीहरुले कुल १७ लाख ७२ हजार ६८१ निर्जीवन बीमालेख जारी गरेका छन् । त्यस्तै, उक्त बीमालेख बापत कम्पनीहरुले १८ अर्ब ८० करोड रुपयाँ बीमाशुल्क आर्जन गरेका छन् भने ११ अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।