बीमा न्युज,
काठमाडौं । बीमा समितिले केरा खेती बिमालेख संशोधन गरेको छ । बीमालेखमा बिषेश गरी दाबीसम्बन्धी गरिएको व्यवस्थालाई परिमार्जन गरिएको बीमा समितिका उप निर्देशक कुन्दन सापकोटाले बताउनुभयो । बीमालेखमा भएको व्यवस्थाले कृषकहरु मर्कामा परेको गुनासो आएपछि समिति बीमालेख परिमार्जन गरेको हो ।
समितिले जारी गरेको केरा खेती बीमामा दाबीको ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ । तर दाबीसम्बन्धी प्रक्रियामा ७२ घण्टाको एक घटना हुने, उक्त अवधिभित्र कुल खेती गरिएको केरा घरी संख्याको ५ प्रतिशतसम्म क्षति भएमा दाबी भुक्तानी गरिने छैन भन्ने व्यवस्था गरिएको छ । अर्थात् प्रत्येक तीन दिनलाई एउटा घटना मानिएको छ । तीन दिनमा कूल केरा घरीको ५ प्रतिशत क्षति भयो भने कृषकले कुनै पनि दाबी भुक्तानी पाउदैनन् । बीमालेखमा गरिएको यस्तो व्यवस्थाले कृषकहरू मर्कामा पर्ने देखिएकाले बीमालेखलाई परिमार्जन गरिएको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताउनुभयो । “हामीले ५ प्रतिशतसम्म क्षति हुँदा भुक्तानी नपाउने व्यवस्थालाई नै हटाएका छौं, अन्य व्यवस्था भने यथावत छ,” उहाँले भन्नुभयो ।
यस अघिको बीमालेख गरिएको व्यवस्थाअनुसार कुनै कृषकले १ हजार घरीको बिमा गरेको छ र पहिलो तीन दिनमा ५० वटासम्म घरी क्षतिग्रस्त भयो भने भुक्तानी पाउँदैन । त्यस्तै, फेरी अर्को तीन दिनभित्र ५० वटासम्म घरी क्षति भयो भने पनि कृषकले भुक्तानी पाउँदैन । ६० वटा घरी क्षति भएको छ भने कृषकले जम्मा १० वटा घरीको मात्रै भुक्तानी पाउँछ । अर्थात् भुक्तानी पाउनका लागि ५० वटा भन्दा बढीको क्षति हुनुपर्नेछ । यस्तो व्यवस्थाले प्रत्येक तीन दिनको फरकमा ५/५ प्रतिशतका दरले कृषकको सबै खेती नष्ट भए पनि भुक्तानी पाउँदैनन् । त्यसैले यस्तो व्यवस्थाले कृषकहरू घाटा पर्ने देखिएकाले समितिले यसलाई परिमार्जन गरेको हो ।
बीमालेखमा गरिएका दाबीसम्बन्धी अन्य प्रक्रिया भने यथावत् छन् । खेती नष्ट भएको अवस्थामा कृषकले १५ दिनभित्र कम्पनीमा खबर गर्नुपर्छ । ढिला हुन गएमा उचित कारणसहित खबर गर्नुपर्छ । दाबी गर्दा कृषकले सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फारम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस/वडा कार्यलय/कम्तीमा नजिकको दुईजना छिमेकीको सर्जमिन मुचुल्का, क्षति भएको केरा बालीको फोटो, प्राविधिकबाट उपचार गराएको कागजात प्रस्तुत गर्नुपर्नेछ ।
केरा खेती बीमालेख लागतमा आधारित बीमा हो । केरा खेती विभिन्न अवधिको हुने हुँदा समितिले १ वर्षभन्दा बढी अवधि र १ वर्षभित्र तयार हुने खेती भनी छुट्टाएको छ । यिनीहरूको दाबी भुक्तानी प्रक्रिया पनि फरक–फरक छ । एक वर्षभन्दा बढी अवधिको खेतीको हकमा पहिलो तीन महिनासम्ममा क्षति भई दाबी गरेको खण्डमा कम्पनीले ५२ प्रतिशतसम्म भुक्तानी गर्छ । त्यस्तै, ४ देखि ६ महिनासम्म ५५, सातदेखि आठ महिनासम्मा ६७, नौदेखि १२ महिनासम्ममा ७० र १३ महिनाभन्दा माथिको खेती क्षति भई दाबी गर्दा शतप्रतिशतसम्म भुक्तानी गर्छ । साथै १ वर्षभित्र तयार हुने खेतीको हकमा पहिलो तीन महिनासम्ममा ५५, चारदेखि छ महिनासम्ममा ६५, सातदेखि आठ महिनासम्म ७५ र नौदेखि १२ महिनासम्म मात्रै शतप्रतिशत भुक्तानी हुन्छ । तर, खेती गरिएको केराको घरीमा कोसा लागि क्षति भएको अवस्थामा बिक्री हुने घरी बजारमा बिक्री गरी बाँकी हुन आउने क्षतिको मात्र दाबी भुक्तानी गरिनेछ ।