बीमा न्युज,
कार्तिक ६, चितवन । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम चितवनमा प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनका अनुसार हाल सम्म ११ हजार दुई सय ५० परिवारका ५१ हजार नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।
गतवर्षको भदौ एक गतेबाट असार सम्म बीमा गरेकाले सेवा लिन थालिसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनका प्रबन्धक सिर्जना पौडेलले बताउनुभयो । हालसम्म पाँच हजार ३७१ जनाले विभिन्न अस्पतालमार्फत उपचार गराइ बीमा रकम दाबीगरी लिएको पौडेलले जानकारी दिनुभयो । बीमा गरेकाले उपचार सेवा र नौं सय २८ प्रकारका औषधि पाउनेछन् ।
कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपछि ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ रुपैयाँ थप भुक्तानी गर्नुपर्दछ ।
चितवनमा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ । रासस