बीमा न्युज,
कार्तिक-८/काठमाडौं
स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेहरुको संख्या बढ्दो देखिएको छ । सरकारले सञ्चालन गरिहेको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत २०७४ अषाढ मसान्त सम्ममा २ लाख २८ हजार १ सय १३ जना सहभागि भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार ०७४ अषाढ मसान्त सम्ममा २२ हजार २ सय २८ जनाले स्वास्थ्य सेवा लिएका छन् । समितिले स्वास्थ्य बीमाशुल्क (अनुदान) ६ करोड ३४ लाख ८१ हजार ३ सय १ रुपैयाँ संकलन गरेको छ । सरकारले हाल विभिन्न २२ जिल्लामा यो कार्यक्रम लागु गरिरहेको छ । अषाढ मसान्त सम्म समितिले स्वास्थ्य सेवा उपलब्ध गराए वापत विभिन्न स्वास्थ्य संस्थालाई १ करोड ८४ लाख ५६ हजार ४ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ ।
स्वास्थ्य बीमा अन्र्तगत बीमा गराएका मध्ये सबैभन्दा धेरै उच्च उच्च रक्तचापका बिरामीले सेवा लिएको समितिले जानकारी दिएको छ । सरकारले चालु आवको अन्त्यसम्ममा थप १५ जिल्लामा यो कार्यक्रम विस्तार गर्ने बताएको छ । भोजपुर, खोटाङ, सिरहा, रामेछाप, रौतहट, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रुकुम, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा र बझाङमा चालु आवको अन्तसम्म कार्यक्रम विस्तार गर्ने तयारीमा समिति रहेको छ । हाल यो कार्यक्रम विभिन्न २२ जिल्लामा संञ्चालित छ । आगामी तिन बर्षभित्रै सबै नागरिकको स्वास्थ्य बीमा गर्ने योजना अन्र्तगत भर्खरै संसदबाट स्वास्थ्य बीमा विधयेक पनि पारित भएको छ ।
के हो स्वास्थ्य बीमा ?
आकास्मिक तवरमा बीरामी पर्दा, चोटपटक लाग्दा स्वास्थ्य बीमा गरेपछि उपचार खर्च पाउने व्यवस्था हुन्छ । निश्चित रकम भुक्तान गरेपछि निशुल्क रुपमा उपचार सेवा पाईने प्रावधान नै स्वास्थ्य बीमा हो । नागरीकमा आइपर्ने स्वास्थ्यसम्बन्धी जोखिम न्युनीकरण र जनताको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न आम नागरिकलाई बिरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्यका साथ सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो । सरकारले सम्पूर्ण नागरिकमा स्वस्थ्य सेवाको पहुँच विस्तार गर्ने उदेश्य साथ आर्थिक बर्ष २०६९÷७० को बजेटमा नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, यो योजना कार्यन्वयन भने सकेन । आव २०७२÷७३ सालको बजेटमा भने सरकारले परिक्षणका लागि कैलाली, बाग्लुङ्ग र इलाममा २०७२ कार्तिक देखि नै स्वास्थ्य बिमा सञ्चालन गर्ने घोषणा गरेको थियो । सरकारले स्वास्थ्य बीमा नीति २०७१ आधारित रहेर सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गरी नागरिकको स्वास्थ्य बीमा कार्यक्रम संञ्चालन गरेको हो ।
कसरी गर्ने स्वास्थ्य बीमा ?
बीमा योजनाअनुसार प्रत्येक परिवारमा पाँचजनासम्मले स्वास्थ्य बीमा गराउन सक्नेछन् । पाँच जना सदस्य बराबर रू.२ हजार ५ सय बीमाशुल्क भुक्तानी गरे बापत उक्त परिवारले रू.५० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । पाँच जना भन्दा बढी परिवार भएका खण्डमा प्रति सदस्य ४ सय २५ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । तर, अति गरीब बर्गमा परेका नागरिकलाई भने उक्त बीमा शुल्क शतप्रतिशत छुट हुनेछ । त्यस्तै, गरिबको रेखामा परेकाले ७५ प्रतिशत र जोखिमयुक्त परिवारले ५० प्रतिशतसम्म छुट पाउनेछन् । सरकारले गरीबी निवारण मन्त्रालयले जारी गरेको परिचय पत्रको आधारमा गरीबीको पहिचान गरी छुट प्रदान गरिनेछ ।
स्वास्थ्य बीमा दर्ताका लागि छनौट भएका जिल्लाहरुमा प्रत्येक नागरिकको घरमै पुग्ने गरि स्वास्थ्य बीमा दर्ता सहयोगी खटाईएका छन् । सहयोगीहरुले परिवारका प्रत्येक सदस्यलाई छुट्टा छुट्टै फर्म भर्न लगाउँछन् । यस्तो फर्म परिवारका सबै सदस्यले भर्नै पर्ने हुन्छ । यो फर्ममा भर्नु पर्ने सम्पूर्ण विवरण दर्ता सहयोगीलाई बताउनु पर्छ ।
दर्ता फारम भर्ने बेलामा तपाईले आफुलाई पायक पर्ने स्वास्थ्य संस्था (सेवा लिने पहिलो स्वास्थ्य संस्था) रोज्नुपर्ने हुन्छ । यसरी स्वास्थ्य संस्था छनोट गर्दा आफुलाई पायक पर्ने उपयुक्त लाग्ने स्वास्थ्य संस्था छनोट गर्नु पर्ने हुन्छ । तर, उक्त स्वास्थ्य संस्थासँग सरकारले स्वास्थ्य उपचारका लागि सम्झौता गरेको हुनुपर्नेछ । दर्ता सहयोगीले परिवारका प्रत्येक सदस्यलाई बीमा गरेको परिचय पत्र प्रदान गर्छन् । सोही परिचय पत्रको आधारमा विरामी पर्दा अस्पतालमा उपचार सेवा प्राप्त गर्न सकिन्छ । स्वास्थ्य बीमा १ बर्षका लागि मात्र मान्य हुने भएकाले, प्रत्येक बर्ष नविकरण गर्नु पर्ने हुन्छ ।
कसरी प्राप्त गर्ने स्वास्थ्य सेवा ?
स्वास्थ्य उपचारको लागि सरकारले विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको हुन्छ । स्थानिय तहमा रहेका स्वास्थ्य चौकी देखि सुविधासम्पन्न अस्पतालसँग सरकारले सम्झौता गरेको छ । विरामी परेको अवस्थामा सबैभन्दा पहिला स्थानिय स्वास्थ्य चौकीमा उपचार गराउनुपर्छ । यदि जिल्ला स्तरिय स्वास्थ्य सेवा केन्द्रले उपचार गर्न नसकेको अवस्थामा केन्द्रको सिफारिशमा क्षेत्रियस्तरको सरकारी अस्पतालमा उपचार गर्न सकिनेछ । तर, अधिकत्तम ५० हजारसम्मको स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएको खण्डमा प्रति सदस्य थप रु. १० हजारको स्वास्थ्य सुविधा लिन सकिन्छ ।
सरकारले स्वास्थ्य बीमा लागु गरेपनि यसअघी नै सरकारले निःशुल्क वितरण गर्दै आएका स्वास्थ्य सेवा र सुविधा भने यथावत नै रहने छन् ।
कस्तो अवस्थामा बीमा रकम उपलब्ध हुदैन् ?
सरकारले आम नागरिकका लागि भनेर ल्यायको स्वास्थ्य बीमा योजनामा सारिरीक सुन्दरता कस्मेटिक सर्जरी, गर्भधान, लिगं परिवर्तन, दाँतको सर्जरी, व्यक्तिगत झैझगडाका कारण लागेका चोटपटक, मादक वा लागूपदार्थ सेवनका कारणबाट भएका दुर्घटना, गर्भपतन आदिका लागि भने यो स्वास्थ्य बीमा उपयोग गर्न नपाईने बताएको छ ।
बीमा कम्पनीमा पनि स्वास्थ्य बीमा गर्न सकिन्छ ?
स्वास्थ्य बीमा गर्ने कम्पनीले ल्याएको योजना अनुसार वार्षिक रुपमा निश्चीत रकम तिरेर व्यक्तिगत तवरमा पनि स्वास्थ्य बीमा गर्न सकिन्छ । विकसीत मूलुकमा धेरै पहिले नै स्वस्थ्य बीमाको सूरुवात भएको भए पनि नेपालमा भने वि.स २०४० को दशकबाट मात्रै स्वास्थ्य बीमाको सुरुवात भएको हो ।
यसरी गर्न सकिन्छ व्यक्तिगत स्वास्थ्य बीमा
ब्यक्तिगत स्वास्थ्य बीमा परिचय खुल्ने प्रमाणपत्र (नागरिकता) आवश्यक हुन्छ । स्वास्थ्य बीमा गर्नको लागि सामान्यता न्युनतम ५ वर्ष र अधिकत्तम ६५ बर्ष पुगेको हुनुपर्छ । तर, कम्पनी अनुसार फरक फरक हुन सक्छ । स्वास्थ्य बीमाको लागि नेपालका बीमा कम्पनीले अधिकतम १० देखी ३५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ । बीमाको अधिकतम रकम अनुसार प्रिमियम अर्थात बीमा शुल्क निर्धारण हुन्छ ।
यस्तो अवस्थामा स्वास्थ्य बीमा मान्य हुँदैन् !
बीमीत दिर्घ रोग लागेको अवस्थामा, बीमा गरेको २८ दिन भित्रै बिरामी भएमा वा बीमीत व्यक्ति गर्भवति भएमा । बीमा मान्य नहुन सक्ने प्रावधान रहेको छ ।
यो पनि पढ्नुहोस
- स्वास्थ्य बीमा विधेयक पारित, सबै नागरिकले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने
- स्वास्थ्य बीमा विधेयकको पूर्णपाठ
- स्वास्थ्य बीमा गराउनेमा महिला अग्रस्थानमा
- स्वास्थ्य बीमा गर्नुभयो ? यसरी गर्नुहोस स्वास्थ्य बीमा
- स्वास्थ्य बीमाको बजेटमा ५० करोडले कटौती
- स्वास्थ्य बीमा कार्यक्रमलाई बजेटको अभावः स्वास्थ्यमन्त्री