बीमा न्युज,
काठमाडौं । एनआइसी एसिया बैंकको स्वीफ्ट सर्भर ह्याक भएपछि बैकिङ क्षेत्रको साइवर क्राइम पनि जोखिमको भएको महशुस गरिएको छ । त्यस्ता जोखिमलाई समेटन बीमा समितिले तयारी थालेको छ । समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर साइबर अपराध मार्फत वित्तीय क्षेत्रमा हुने क्षतिको बीमा गराउनेबारे छलफल गर्न लागेको हो ।
‘समितिले बीमा कम्पनीका सिईओहरुलाई बोलाएर स्वीफ्ट ह्याकिङ जस्ता अपराधबाट वित्तीय क्षेत्रमा पुग्ने क्षतिको बीमा कसरी गराउन सकिन्छ, कसरी पोलिसी बनाउन सकिन्छ भनेर छलफल गर्न लागेको छ, केहि दिनभित्रै त्यस्तो छलफल आरम्भ हुन्छ ।’, समितिका कानुन विभागका प्रमुख शम्भुराज लामिछानेले बताउनुभयो ।
नेपालमा बैंक तथा वित्तीय संस्थाले बैंकको ढुकुटीमा रहेको नगद देखि कर्जा लगानीको बीमा गरिएको भएपनि यस्ता साइबर क्राइम अन्र्तगत स्वीफ्ट ह्याकिङ जस्ता जोखिमको बीमा गरिएको थिएन् । अव त्यसको बारेमा सोच्नुपर्ने राष्ट्र बैकका सहयक प्रवक्ता राजेन्द्र पण्डितले बताउनु भयो । ‘नेपालमा अहिलेसम्म स्वीफ्ट ह्याकिङ जस्ता साइबर अपराध वापत हुने क्षतिको बीमा भएको छैन । अब भने हामीले पनि सोच्ने बेला भएको छ ।’ उहाँले भन्नुभयो ।
विदेशमा साइबर क्राइमको बीमा गरिन्छ, तर नेपालमा भने साइबर क्राइम बीमा पोलिसी अहिले सम्म लागु भएको छैन । साइबर क्राइम जोखिमको बीमा गर्न भारतीय बीमा कम्पनीहरुले नेपाली बैंकहरुलाई प्रस्ताव गरेको भएपनि नेपालको बीमा नीतिसँग मेल नखाएपछि भारतीय बीमा कम्पनीहरुको प्रस्ताव बैंकहरुले स्वीकार गर्न नसकेको पाइन्छ ।