बीमा न्युज,
काठमाडौं । सरकारले संचालन गरेको स्वास्थ्य बीमामा अब एक लाख रुपैयाँ सम्मको स्वास्थ बीमा सुविधा पाउने भएको छ । यसअघि एक परिवारको ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा पाउदै आएकोमा अब त्यसलाई बढाएर एक लाख रुपैयाँ बनाउन लागिएको हो ।
बीमा गराउनेहरुले उपचार गराउन पाउने अधिकतम रकम बढेर दोब्बर हुने भएको हो । राष्ट्रिय स्वास्थ्य बीमा ऐन संसदबाट पारित भएसँगै बनिरहेको नियमावलीमा यस्तो व्यवस्था उल्लेख गरिएको छ । नियमावलीमा ५ जना सम्मको परिवारका वार्षिक ५० हजार सम्मको उपचार खर्च पाउने व्यवस्थालाई बढाएर एक लाख पुर्याइने भएको हो । साथै, बीमा नविकरण गराउँदा पनि प्रिमियम रकममा छुट दिने व्यवस्था नियमावलीमा उल्लेख गरिएको छ ।
वर्षभरिमा एउटा पनि बीमा दावि नगरे नविकरणमा थप अरु छुट पाउने व्यवस्था गर्न लागिएको पनि सामाजीक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले बताउनुभयो । डा. लोहनीले मस्यौदाको अन्तिम ड्राफ्ट केही दिनमा तयार हुने जानकारी दिनुभयो । मन्त्रिपरिषदबाट नियमावली पास गराएपछि यो कार्यान्वयनमा आउने छ । बिमाको दावी भुक्तानीको सिलिङ बढाइएसँगै प्रिमियम रकममा पनि केही बृद्धि गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
यसअघि कार्यक्रमअन्तर्गत ५ जनाको परिवारले वार्षिक २५ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपछि ५० हजार रुपैयाँसम्मको उपचार सेवा पाउँदै आएका थियो । नागरिकको स्वास्थ्योपचारमा सहज पहुँच पुर्याउने उद्देश्य अनुरूप राष्ट्रिय स्वास्थ्य बीमा ऐन निवर्तमान स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सदनबाट पारित गराएउनु भएको थियो ।