‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा नेपाल लाइफ इन्स्योरेन्सको “जीवन उन्नति बीमा योजना”
बीमा न्युज,
काठमाडौं । विभिन्न प्रकारको धनवर्षा जीवन बीमाको अपार सफलता र बीमितहरूको जन चाहना अनुरूप “जीवन उन्नति” बीमा योजना कम्पनीले मिति २०७२ श्रावण १९ गतेदेखि सर्वसाधारण माझ ल्याएको हो । यस योजनामा एकल भुक्तानीको व्यवस्था, अपाङ्ग अशक्तताको सुविधा, बीमालेख धितोमा एक वर्षमा नै कर्जा उपलब्ध हुने व्यवस्था छ । त्यसका साथै १२, १६ र २० वर्ष अवधिका लागि बीमा गर्न सकिने जस्ता थप सुविधाहरू रहेका छन् ।
योजनाका मुख्य विशेषताहरू ;
यस योजनामा १६ वर्ष देखि ५८ वर्ष सम्मका व्यक्तिहरूको सहभागि हुन सकिन्छ । सिमित अवधिमा मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । बीमा अवधि भित्र चार वर्षको अन्तरालमा विभिन्न किस्तामा भुक्तानी गर्न सकिन्छ । चार बर्षीय अवधि बीमाङ्कको ६० प्रतिशत रकम प्राप्त हुन्छ । बीमा अवधि समाप्तिमा बीमाङ्कको ४० प्रतिशत रकम र आर्जित बोनस रकम एकमुष्ठ प्रदान गर्दछ । न्यून रकममा बीमा कम्पनीमा रही पूर्ण बीमाङ्क बराबर जोखिम बहन समेत यस बीमा योजनामा रहेको छ । बीमा अवधिमा बीमितको कदंम कदाचित मृत्यु भएमा आश्रित परिवारलाई एकमुष्ठ रकम प्राप्त हुने हुँदा वित्तिय जोखिम कम हुन्छ ।
बीमा चालु भएको एक वर्ष पश्चात ऋण सुविधा उपलब्ध हुने हुँदा सदैव तरलताको सुविधा हुन्छ । बीमा अवधिभित्र बीमित दुर्घटनाबाट अपाङ्ग वा अशक्त भएमा अपाङ्ग र अशक्तता सुविधा बापत बीमाङ्क बराबर रकम मासिक १२० किस्तामा पाइन्छ र बाँकी बीमाशुल्क छुट भई बीमा चालू रहि रहन्छ । साथै आय स्रोतको आधारमा पनि बीमाङ्क रकम निर्धारण गर्न सकिन्छ । बीमाङ्क रकम ५० हजार रुपैयाँ देखि आय स्रोतको आधारमा जति पनि गर्न सकिन्छ ।
ऐच्छिक सुविधा ;
यस सुविधा अन्र्तगत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट र अशक्त सुविधा समावेश भएको छ । ऐच्छिक सुविधा बीमाङ्क बराबर अधिकतम ५० लाख सम्म लिन सकिन्छ । ऐच्छिक सुविधा लिई बीमा अवधिमा बीमित दुर्घटनाको कारणबाट मृत्यु भएमा ऐच्छिक सुविधाको बीमाङ्क बराबर थप रकम उपलब्ध हुन्छ र दुर्घटनाको कारणबाट बीमालेखको पुरक सम्झौतामा उल्लेख भए बमोजिम अपाङ्ग वा अशक्त भएमा ऐच्छिक सुविधाको बीमाङ्क बराबरको रकम मासिक १२० किस्तामा उपलब्ध हुन्छ । बाँकी अवधिको बीमाशुल्क भुक्तानी गर्नु नपर्ने हुन्छ । साथै बीमालेख चालू रहि मृत्यु जोखिम बहन भइ रहन्छ । बीमालेखको शर्त बमोजिम बीमाङ्क रकम फिर्ता हुँदै जाने तथा अवधि समाप्तिमा आर्जित बोनस समेत प्राप्त हुनेछ ।
सुविधा ; ऋण तथा समर्पण मूल्य
एकल बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पश्चात् बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिन्छ । एकल बीमाशुल्क बाहेक अन्य बीमाशुल्क भुक्तानी तरिकाको हकमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पश्चात् वार्षिक दुई किस्ता बीमाशुल्क भुक्तानी गरे पछि समर्पण मूल्य प्राप्त हुन्छ । समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिन्छ ।
भुक्तानी अवधि
बीमालेख चालु रहेको अवस्थामा बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको नियमानुसारको बोनस रकम एकमुष्ठ भुक्तानी दिइनेछ तर एकल बीमाशुल्क भुक्तानी तरीकामा बीमाङ्कको २.५ गुणाले हुने रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी दिईनेछ । यसरी भुक्तानी गर्दा अवधि भुक्तानी बापत प्रदान गरेको रकम कट्टा गरिने छैन ।